मुगुमा सुपथ मूल्य पसलबाट चामल बिक्री



मुगु । हिमाली जिल्ला मुगुमा सञ्चालित सुपथ मूल्य पसलबाट नेपालीको महान चाड दसैँ र तिहारलाई लक्षित गर्दे बिहीबारसम्म चार सय ४२ क्वीन्टल चामल बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा सञ्चालन भएको सुपथ मूल्य पसलबाट हालसम्म सो चामल बिक्री भएको खाद्य कम्पनीले जनाएको हो ।

दसैँँ, तिहार, छठलगायतका चाडपर्वलाई मध्यनजर गर्दै गत असोज १ गतेदेखि सञ्चालन गरिएको सुपथ मूल्य पसलबाट उक्त चामल बिक्री भएको कम्पनीका कार्यालय प्रमुख पुस्कर भामले जानकारी दिए । उक्त पसलबाट हरेक चामलको मूल्यमा प्रति केजीमा रु सात छुटमा बिक्री भइरहेको छ । कार्यालय प्रमुख भामकाअनुसार अरु समयको भन्दा अहिले सुपथ मूल्य पसल सञ्चालन गरिएपछि धेरै चामल बिक्री भएको छ ।


सुपथ मूल्य पसलबाट मुगुका छायानाथ रारा नगरपालिका र जिल्लाकै पूर्वी भेगको गाउँपालिकाकाका स्थानीयबासीलाई लक्षित गरिएको छ ।