मल्लकालीन कोटभैरव मन्दिरमा घटस्थापना



पाेखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिरमा आज घटस्थापना गरिएको छ ।

प्रत्येक वर्षको आश्विन शुक्ल प्रतिपदाको दिनमा घटस्थापना गर्ने प्राचीन प्रचलनअनुरूप आज विधिवत् रूपमा घटस्थापना गरिएको कोटभैरव मन्दिर संरक्षण एवं पूजा व्यवस्थापन समितिका कोषाध्यक्ष कर्णकुमारी महतले जानकारी दिइन् । मन्दिरमा घटस्थापना गरी दैनिक दुर्गा पाठ गरिने र सप्तमीका दिन फूलपाती भित्र्याउने, महाअष्टमी, महानवमीको विशेष पूजा गरिने उनले जानकारी दिइन् ।


मन्दिरमा विजया दशमीका दिनमा सामूहिक टीकाप्रसाद ग्रहण गर्ने प्रचलन छ । यसैबीच घटस्थापनाकै अवसरमा आज मनियलडाँडाबाट कोटभैरव मन्दिर जाने बाटो सामूहिकरूपमा सरसफाइ गरिएको सिलिङ्गे महिला चेतना समूहका सचिव सीता केसी महतले जानकारी दिइन् । मन्दिरको दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण विशेषगरी आश्विन शुक्ल पक्षका अवसरमा कास्कीसहित स्याङ्जा, तनहुँलगायत आसपासका स्थानबाट ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गर्छन् ।