मन्त्रीलाई लाइन नमिच्न आग्रह गर्दा सुरक्षागार्ड पक्राउ, मुद्दा चलाउने तयारी



काठमाडौँ । व्यक्तिगत कामका लागि ठमेलस्थित छायाँसेन्टर पुगेका संस्कृत पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठलाई लाइन नमिच्न आग्रह गर्दा एक सुरक्षागार्ड पक्राउ परेका छन् ।

भिसाका लागि बायोमेट्रिक विवरण दिन पुगेका मन्त्री श्रेष्ठलाई लाइनमा बसिदिन आग्रह गर्दा सुरक्षागार्ड शेरजंग गुरुङ पक्राउ परेका हुन् । प्रहरी परीसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार सुरक्षागार्ड गुरुङलाई नियन्त्रणमा लिइएको हो ।


मन्त्रीको सचिवालयका अनुसार मन्त्री श्रेष्ठ पहिलेनै खबर गरेर छायाँसेन्टर पुगेका थिए । मन्त्री हुनुहुन्छ भन्दाभन्दै गुरुङले जो भएपनि लाइनमा बस्नुपर्छ भनेपछि विवाद उत्पन्न भएको थियो। त्यसपछि उनलाई पक्राउ गरिएको हो । गुरुङलाई अभद्र व्यवहारमा मुद्धा चलाउने तयारी छ ।