मनास्लुमा आरोहीको आकर्षण बढ्दो



काठमाडौँ । विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो मनास्लु (८,१६३ मिटर) हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आएका छन् । यस वर्षको शरद ऋतु (अटम सिजन) को हिमाल आरोहणमा विगत वर्षमा झै मनास्लु आरोहणमा आरोहीको आकर्षण देखिएको हो । 

पर्यटन विभागका अनुसार यो सिजनमा सगरमाथा (८,८४८.८६ मिटर) सहित २५ आरोही समूहका कूल दुई सय ३७ आरोहीले आरोहण अनुमति लिएका छन् । यसमा सबैभन्दा बढी आरोही मनास्लु आरोहणमा आएका छन् । विभागको पर्वतारोहण शाखाको भदौ १९ गतेसम्मको विवरणमा मनास्लु आरोहणका लागि मात्रै १९ आरोही समूहका एक सय ६० महिला र ५० पुरुषसहित कूल दुई सय १४ आरोहीले आरोहण अनुमति लिएका छन् । 


शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइमा पर्छ । विगतका वर्षमा झै यस पटक पनि मनास्लु आरोहणमा आरोही उत्साहवर्द्धक रुपमा आइरहेको नेपाल पर्वतारोहण सङ्घका पूर्व महासचिव कुलबहादुर गुरुङले जानकारी दिए । शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यो सिजनमा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेको उनको भनाइ छ ।

 सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गर्नुभएको थियो । त्यसको दुई दिन अर्थात् मे ११ मा जापानिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लो आरोहण गरेको रेकर्ड छ । सन् १९५६ मे १८ मा स्वीस नागरिक आन्स रेज र रिट्ज लुचिसिङ्गरले मनास्लु आरोहण गरेका थिए । सेभेन सम्मिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले यो सिजनमा मनास्लु आरोहणका लागि धमाधम आरोही आइरहेको बताए ।

उनका अनुसार कम्पनीका तर्फबाट करिब ६० जना आरोही मनास्लु आरोहणका लागि आएका छन् । अबको एक महिना आरोही आउने भएकाले मनास्लु आरोहणको सङ्ख्या बढ्ने विश्वास व्यक्त गरे । आरोहणको उपयुक्त मौसम मानिएकाले हरेक वर्ष मनास्लु आरोहणमा सर्वाधिक आरोही आउने गरेको प्रबन्ध निर्देशक शेर्पाको भनाइ छ । मनास्लु आरोहणको ६६ वर्षको अन्तरालमा उल्लेख्य सङ्ख्याका आरोहीले आरोहण गरेको पाइन्छ । पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनरिङ इन नेपाल फट्याक्क एण्ड फिगर २०२०’ अनुसार सन् २०१८ सम्म मनास्लु हिमालको एक हजार आठ सय ५६ जनाले आरोहण गरेका छन् । पछिल्ला तीन वर्षको मनास्लु आरोहणको विवरण यकिन नभएकाले यो सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।

लामो आरोहण इतिहास कायम रहेको गोरखामा अवस्थित मनास्लु हिमालको विसं २०७३ मा ६० वर्षे हीरक महोत्सव मनाइएको थियो । नेपालको सुदूरपश्चिम भागमा रहेको मनास्लु जसलाई कुताङ भनेर पनि चिनिन्छ । यो हिमाललाई हृदयको हिमाल पनि भनिन्छ । मानसिरी पर्वतशृङ्खलामा रहेको यो संसारको आठौँ अग्लो हिमाल हो ।

 विस २०७७ असोज २९ गते बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको २१ जनाको टोली मनास्लु आरोहण गरेपछि विश्वभर मनास्लु हिमाल र नेपालको चर्चा चुलिएको थियो । उक्त आरोहणले नेपालको पर्वतारोहणलाई विश्व बजारमा थप प्रवर्द्धन भएको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।

पर्यटन विभागले जारी गरेको पछिल्लो आरोहण अनुमति ‘एक्सिपीडिसन पर्मिट’ अनुसार सगरमाथा, धौलागिरि (८,१६७ मिटर)  लगायत हिमाल र पिक आरोहण गर्न हालसम्म ४५ मुलुकका ५४ महिला तथा एक सय ८३ पुरुष गरी कूल दुई सय ३७ आरोही नेपाल आएका हुन् ।यस्तै सगरमाथा आरोहणका लागि एक आरोही समूहका पाँच जनाले अनुमति पाएका छन् ।

धौलागिरि आरोहणका लागि एक आरोही समूहका पाँच आरोहीले आरोहण अनुमति लिएका छन् । हिम्लुङ हिमाल (७,१२६ मिटर) मा दुई समूहका सात, नुप्से (७,८५५) आरोहणका लागि एक समूहका पाँच र सरिबुङ (६,३४६ मिटर) आरोहणका लागि मात्र एक आरोहीले अनुमति लिएका छन् । यो सिजनमा हिमाल आरोहणबाट हालसम्म रु दुई करोड ९० लाख रोयल्टी जम्मा भएको छ ।