‘भूपि पुरस्कार’का लागि कृति आह्वान



बागलुङ । कवि भूपि शेरचनका नाममा धौलागिरि साहित्य प्रतिष्ठान, बागलुङद्वारा स्थापित ‘भूपि पुरस्कार’का लागि कृति आह्वान गरिएको छ । मंगलबार बसेको प्रबन्ध समितिको बैठकले आउँदो कात्तिक महिनाभित्र कृति पठाउन आह्वान गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानले स्रष्टा र साहित्यिक संस्थालाई आलापालो गरी बर्सेनि पुरस्कार प्रदान गर्दै आएको छ । यो वर्ष स्रष्टालाई पुरस्कृत गरिने प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिए । भूपि शेरचन र उनका रचनामाथि लेखिएका समालोचनात्मक कृतिले पुरस्कारको मूल्याङ्कन प्रक्रियामा प्राथमिकता पाउने उनको भनाइ छ ।


कवि, लेखकबाट प्राप्त कृतिमध्येबाट छनोट समितिले उत्कृष्ट ठहराएको कृतिलाई ‘भूपि पुरस्कार’ समर्पण गरिने छ । पुरस्कारको राशि रु २५ हजार छ । आउँदो पुस १० गते भूपि जयन्तीका अवसरमा पुरस्कार प्रदान गरिने छ ।

गत वर्षको सो पुरस्कार संस्थागततर्फ मुस्ताङको कोवाङस्थित ‘भूपि स्मृति थाक पुस्तकालय’लाई प्रदान गरिएको थियो । त्यसअघि संस्थागततर्फ थकाली समाज बुटवल, स्रष्टातर्फ लेखक एवं समालोचक सुकुम शर्मा र प्राडा सुधा त्रिपाठीले ‘भूपि पुरस्कार’ पाइसक्नुभएको छ । जनस्तरबाट सहयोग जुटाएर विसं २०७३ मा उक्त पुरस्कार कोषको स्थापना गरिएको थियो ।