भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश



काठमाडौँ । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार दशरथ रंगशालामा भएको खेलमा भारतलाई १–० गोलले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । योसँगै महिला साफमा पाँचौपटक नेपाल फाइनलमा पुगेको हो । यसअघि चार पटकको फाइनलमा नेपाल पराजित भएको थियो ।

नेपालका लागि पहिलो हाफको अन्तिम मिनेटमा रश्मिकुमारी घिसिङले गोल गरिन् । प्रिति राईले दिएको क्रसमा रश्मिले डिबक्स भित्रबाट उत्कृष्ट फिनिसिङ गरेकी थिइन् । नेपालले अब उपाधिका लागि सोमबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानमाथि ८–० गोलको जित निकालेको थियो ।


नेपालसँग पराजित भएसँगै भारत पहिलोपटक साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ। भारत बाहिरिएसँगै महिला साफ च्याम्पियनसिपले नयाँ च्याम्पियन पाउने भएको छ। यसअघिका पाँच संस्करणकै उपाधि भारतले जितेको थियो।