बुटवलको प्रगतिनगरमा स्मृति उद्यान बनाइँदै



बुटवल । बुटवलको प्रगतिनगरमा स्मृति उद्यान निर्माण हुने भएको छ । बुटवल उपमहानगरपालिकाले बुटवल–११ मा नेपाली कांग्रेसका संस्थापक विपी कोइराला, कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र बुटवलका पूर्वनगर प्रमुख सूर्यप्रसाद प्रधानका स्मृतिमा उद्यान निर्माण गर्न लागेको हो ।

स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित भएर पदस्थापन गरेको एक सय दिन पूरा भएका अवसरमा आज आयोजित कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले उद्यानको शिलान्यास गरे । सत्र कट्ठा १४ धुरमा बन्ने उद्यानमा कोइराला, श्रेष्ठ र प्रधानको सालिक रहने, उद्यानलाई सौन्दर्यीकरण गरी घुम्न र विश्राम गर्न योग्य बनाइने नगर प्रमुख पाण्डेयले जानकारी दिए ।


गत जेठ २५ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार चालु आर्थिक वर्षका लागि सालिकसहितको उद्यान निर्माण गर्न रु ५० लाख विनियोजन भएको शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले जानकारी दिए ।