बस्ती जोगाउन स्थानीयलाई साथ दिँदै मन्त्री बडू



दार्चुला । दार्चुलाको बाढी प्रभावित क्षेत्र महाकाली नगरपालिका–४ बङ्गाबगड क्षेत्रको मानव बस्ती जोगाउन स्थानीयवासीसँगै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले साथ दिएका छन्।

शुक्रबार राति लास्कुखोलामा भएको कटानले बङ्गाबगड बस्ती विस्थापित हुन थालेपछि कटान रोक्नका लागि गर्न लागिएको तारजालीको काममा मन्त्री बडू स्वयं ढुङ्गा बोक्ने काममा सहभागी भई स्थानीयवासीलाई साथ दिएका हुन्। प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामी पनि उक्त काममा सहभागी भएका छन्।


मन्त्री बडूसहित प्रदेशका आन्तरिक मामिलामन्त्री रणबहादुर रावल र उद्योग, पर्यटन वन वातावरणमन्त्री धामीसहितको टोली शनिबार नेपाली सेनाको हेलिकप्टरमार्फत राहत लिएर बाढी प्रभावित क्षेत्रमा पुगेको थियो । प्रदेशका आन्तरिक मामिलामन्त्री रावल भने शनिबार साँझ कैलाली फर्केका छन् । कटान रोकथामका लागि सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा, महाकाली नगरप्रमुख नरसिंह चैसिर, उपप्रमुख दुर्गाकुमारी खत्री विष्ट, विभिन्न दलका कार्यकर्ता, सुरक्षाकर्मी तथा स्थानीयवासीले बिहानैदेखि तारजाली लगाएर बङ्गाबगड क्षेत्रमा खोला फर्काउने प्रयास गरिरहेका छन् ।

बस्ती जोगाउन ढुङ्गा जाली लगाएर नदीको धार परिवर्तन गर्नुपर्ने आवश्यक देखिएको मन्त्री बडूले बताए। “अहिलेलाई पहिलो चरणमा कटान रोक्ने काम गराँै”, उनले भने, “नदीको बहाव कम भएपछि बजारको कटान रोकिन्छ, यो सबैको साझा दायित्व हो ।” बङ्गाबगड क्षेत्रको खानेपानी ट्याङ्की नजिकैको बजार कटान हुन थालेपछि तारजाली र ढुङ्गा भर्ने काम भइरहेको नकपा (एमाले) जिल्ला कमिटी उपाध्यक्ष चरनसिंह बुढाथोकीले बताए।

उनले भने , “स्थानीयवासीको सहभागितामा बिहान छ बजेदेखि नै जालीमा ढुङ्गा भर्न थालेका छौँ । माथिल्लो बङ्गाबगड नजोगाउने हो भने पुरै बजार विस्थापित हुने अवस्था छ ।” स्थानीयवासी खडक बडालले यो बङ्गाबगड क्षेत्रको कटान जोगाउन सकिएमा तल्लो क्षेत्रको कटान रोकिने देखिन बताए। लास्कु खोलाको सम्भावित कटान रोक्न आज बिहानैदेखि ढुङ्गा बोक्ने जाली भर्ने काम भइरहेको छ । सुरक्षाकर्मी र स्थानीयवासीको पहलमा जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको छ ।

बेपत्ता १० अझै भेटिएनन्, खोजी कार्य जारी

शुक्रबार रातिदेखिको अविरल वर्षा र बाढी पहिरोसँगै बेपत्ता भएका महाकाली नगरपालिकाका १० जना अझै भेटिएका छैनन् । महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो मात्रामा जनधनको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बाढी पहिरोमा परेर अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ भने १० बेपत्ता छन् ।

बेपत्ता हुनेमा महाकाली नगरपालिका–३ का धनसिंह कार्की, दीपक कार्की, दिनेश कार्की, वडा नम्बर ४ का सरस्वती लुहार, मोहन लुहार, वडा नम्बर २ का मानमति शाहु, वडा नम्बर १ का मञ्जु लुहार, दिनेश लुहार, साजन लुहार र दलजीत लुहार रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरले बताए। महाकाली नदीमा पानीको बहाव नघट्दा बेपत्ताहरूको खोजीमा समस्या भइरहेको छ । उनीहरुलाई महाकाली नदी किनार नजिकका प्रहरी युनिट परिचालन गरी खोजी भइरहेको छ । राहत र उद्धारको काम सँगसँगै अघि बढाइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडू, प्रदेश सरकारका मन्त्री धामीलगायतले पीडित परिवारलाई भेट्दै तत्काल राहतको व्यवस्था गर्ने बताएका छन् । विस्थापितलाई अस्थायी बसोवासको व्यवस्था गरिएको छ । अधिकांशले आफन्तको घरमा तथा जिल्ला समन्वय समितिको हलमा आश्रय लिइरहेका छन् ।

बाढी पहिरोले दार्चुलाका दुई स्थानीय तहका झन्डै एक सय परिवार प्रभावित भएका छन् ।  बाढी पहिरोमा परि ४२ घर पूर्ण क्षति, नौ घर आंशिक क्षति भएको छ भने ४० घर जोखिममा रहेका छन् ।