बङ्गलादेशको टोलीद्वारा भक्तपुर सम्पदा अवलोकन



भक्तपुर । बङ्गलादेश–नेपाल मैत्री सङ्घका अध्यक्ष एवं ढाकाका वरिष्ठ साहित्यकार लायन मोसिउर अहमदको नेतृत्वमा नेपाल आएको साहित्यकारको टोलीले आज भक्तपुरको ऐतिहासिक सम्पदाको अवलोकन गरेको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बङ्गलादेशको टोलीलाई आज भक्तपुरमा भादगाउँले टोपी लगाएर स्वागत गर्दै बङ्गलादेश र नेपालबीच भौगोलिक एवं सांस्कृतिक समानता भएको बताए ।


उनले दुई देशबीचको अनुभव आदानप्रदानले दुवै देशका जनताबीचको सम्बन्ध अझ सुमधुर र प्रगाढ हुने विश्वास व्यक्त गर्दै मित्रराष्ट्र बङ्गलादेशले धेरै नेपाली विद्यार्थीलाई चिकित्सा शिक्षा र अन्य विषयमा उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरिरहेको बताए ।

नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले ख्वप विश्वविद्यालय सञ्चालनको तयारी गरिरहेको जानकारी दिए । उनले साहित्यकारले साहित्यमार्फत समाजको निम्ति योगदान गर्ने भन्दै बङ्गलादेशका उत्कृष्ट साहित्य नेपालीमा अनुवाद गर्ने चाहना व्यक्त गरे ।

कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाको विभिन्न पक्षको बारेमा जानकारी गराउँदै भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सरसफाइ, कला संस्कृति संरक्षणलगायतका सबै क्षेत्रको सन्तुलित विकास गर्दै नपालाई ज्ञान विज्ञानको केन्द्रका रूपमा अगाडि बढाएको बताइन् ।

त्यसअवसरमा बङ्गलादेश–नेपाल मैत्री सङ्घका अध्यक्ष एवं ढाकाका वरिष्ठ साहित्यकार अहमदले भक्तपुर नपाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर गरिरहेको काम निकै प्रशंसनीय रहेको भन्दै भक्तपुरको भ्रमण गर्ने अवसर र न्यानो स्वागतले अत्यन्तै खुसी दिलाएको बताए ।

भेटमा बङ्गलादेश–नेपालमैत्री सङ्घ ढाकाका महासचिव सल्लाउद्दीन कुटुकवि, कवि तथा उपन्यासकार डा.अन्वारा सइद हक, कवि तथा साहित्यकार प्राडा दिलारा हाफिज, प्रा शेली सेन गुप्ता, मोहम्मद मोसिउर रहमान र प्रसिद्ध गायक काजलकुमार मुखर्जी एवं नेपाली साहित्यकार प्रतीक ढकाल, रामप्रसाद पन्त, शङ्कर भट्टराई, पवन आलोक लगायतको सहभागिता रहेको थियो ।

टोलीले भक्तपुर दरबार क्षेत्रमा अवस्थित पुरातात्विक एवं सांस्कृतिक महत्वका सम्पदाको रुचिपूर्वक अवलोकन गरेको थियो ।