पूर्वी भूभागमा चिहान र ‘यातना केन्द्र’ फेला परेको युक्रेनको दावी



युक्रेनी अनुसन्धानकर्ताहरूले शुक्रबार पुनः कब्जामा लिएको इज्युम शहरबाहिरको सल्लाको जङ्गलमा पुगेर बलौटे माटोबाट सयौं शवहरू निकाल्न सुरु गरेका छन् । एएफपीका सम्वाददाताका अनुसार कम्तीमा एउटा शव हातले बाँधिएको अवस्थामा गाडिएको भेटिएको छ ।

कीभका अधिकारीहरूले खार्किभ क्षेत्र रूसी आक्रमणकारीहरूबाट पुनः कब्जामा लिएपछि सामूहिक चिहानस्थलमा ४५० चिहानहरू गणना गरिएको र १० कथित ‘यातना केन्द्रहरू’ फेला पारेको बताएका छन् । इज्युमबाहिरको जङ्गलमा चिहानको टुप्पोमा अस्थायी क्रस र नम्बरले चिनो लगाइएको एएफपीका सञ्चारकर्मीले बताए ।


चिहानमा लेखिएको थियो, “१७ युक्रेनी सेना गाडिएको इज्यूम चिहान ।” कीभको सेनाले हालैका दिनहरूमा पूर्वमा प्रति–आक्रमणमा धेरै क्षेत्रहरू बरामद गरेको छ र धेरै शहरहरूलाई रूसी सेनाबाट मुक्त गरेको छ ।

प्रहरी प्रमुख इगोर क्लाइमेन्कोले बालाकलिया शहर र खार्किभका अन्य स्थानमा यातना कक्ष फेला परेको बताएका छन् भने राष्ट्रपतिका सहयोगी माइखाइलो पोडोल्याकले इज्युम सामूहिक चिहान स्थलमा मात्रै कम्तीमा ४५० शव रहेको बताएका छन् ।

पोडोल्याकले भने, “कब्जा गरिएका क्षेत्रहरूमा महिनौंदेखि व्यापक आतंक, हिंसा, यातना र सामूहिक हत्याहरू भइरहेका भेटिएको छ ।