पाकिस्तानमा बाढी पहिरोका कारण थप २२ जनाको मृत्यु



पाकिस्तानमा बाढी पहिरोका कारण थप २२ जनाको मृत्यु भएको छ । अत्यधिक वर्षापछिका घटनामा परी पाकिस्तानमा पछिल्लो समय दैनिक धनजनको क्षति भइरहेको छ । घटनामा परी पछिल्लो २४ घण्टामा थप नौ जना घाइते भएको र स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

बाढी पहिरोबाट सबैभन्दा बढी सिन्ध प्रान्त प्रभावित भएको छ । यही प्रान्तमा मानवीय क्षति र भौतिक क्षति सबैभन्दा बढी भएको छ । गत मध्य जुनदेखि सुरु भएको मनसुनपछिका घटनाका कारण पाकिस्तानमा यस पटक अकल्पनीय क्षति भएको छ । बाढी पहिरोले लाखौँ विस्थापित भएका छन्, भने अरु हजारौ घाइते भएका छन् ।


घटनामा परी अहिलेसम्म एक हजार ५०८ जनाको मृत्यु भएको जनाइएको छ । त्यसैगरी १२ हजार ७५८ जना घाइते भएका छन् । प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार यसअवधिमा १८ लाख १७ हजार ५५० घर क्षतिग्रस्त भएका छन् । नौ लाख २९ हजार ५४३ जनावर मरेको पनि प्राधिकरणले जनाएको छ ।