पाकिस्तानमा बाढीपछि रोग र कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या बढ्ने खतरा : राष्ट्रसङ्घ



संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले पाकिस्तानमा मनसुनी बाढीका कारण उत्पन्न पानीजन्य रोग र कुपोषण प्रारम्भिक जलप्रलयभन्दा बढी घातक हुने चेतावनी दिएका छन् । पाकिस्तानमा मनसुनी वर्षाका कारण बेलायतको एक तिहाइ भूभागमा बाढी आएको र करिब एक हजार ६०० जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

सत्तरी लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । धेरै लामखुट्टेको टोकाइबाट बच्न अस्थायी टेन्टमा बसिरहेका छन् । प्रायः स्थानमा सफा पिउने पानी वा धुने सुविधाको अभाव छ । संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता संयोजक जुलियन हर्निसले पाकिस्तानले डेङ्गु, औलो, हैजा, झाडापखाला र कुपोषणजस्ता रोगका कारण दोस्रो विपत्तिको सामना गर्नुपरेको बताए ।


राजधानी इस्लामावादमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “मेरो व्यक्तिगत चिन्ता के हो भने पानीबाट हुने रोगबाट हुने मृत्यु दर कुपोषणबाट हामीले अहिलेसम्म देखेको भन्दा बढी हुनेछ । “यो एक शान्त तर यथार्थवादी बुझाइ हो । बाढीका कारण करिब तीन करोड ३० लाख मानिस प्रभावित भएका छन् । बाढीका कारण करिब २० लाख घर तथा व्यापारिक परिसर ध्वस्त भएका छन् । सात हजार किलोमिटर सडक बगाएको छ भने ५०० पुल भत्किएका छन् ।