पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले न्यायिक अधिकारीको आलोचना गरेकोमा माफी मागेका छन् । अन्तर्राष्ट्रिय प्रसिद्ध क्रिकेट खेलाडीबाट राजनीतिज्ञ बनेका खानलाई गत अप्रिलमा अविश्वासको प्रस्तावमार्फत सत्ताच्युत गरिएको थियो तर उनले आफ्नो पुनरागमनको योजना बनाइरहेका छन् ।
बिहीबार उनी इस्लामाबाद उच्च अदालतमा उपस्थित भएका थिए, जहाँ उनले आफ्नो एक निकट सहयोगीलाई हिरासतमा लिएपछि दिएको टिप्पणीका लागि माफी माग्न नसके अदालतको अवहेलनाको अभियोग लगाइने खतरा थियो । “सबैले अदालतको सम्मान गर्नुपर्छ र आज उहाँले यही देखाउनुभउको छ,” पूर्व प्रधानमन्त्री खानका वकिल फैजल चौधरीले एएफपीसँग भने ।
चौधरीले भने, “यदि उहाँले कानुनी रूपमा केही गल्ती गरेमा त्यसका लागि माफी माग्नुहुन्छ । अब अवहेलना मुद्दा फिर्ता हुने सम्भावना धेरै छ ।”
पाकिस्तानका अदालतहरूलाई प्रायः सांसदहरूलाई थकाऊ र लामो समयसम्म घुमाउरो कार्यवाहीमा बाँध्न प्रयोग गरिन्छ जुन अधिकार अनुगमनकर्ताहरूले राजनीतिक विपक्षलाई दबाउन प्रयोग हुने गर्छ भनी आलोचना गरिने गरेको छ ।
खानले पत्रकारसँगको कुराकानीमा भने, “मेरो लडाई पाकिस्तानको न्यायपालिकासँग होइन । अहिले म वास्तविक स्वतन्त्रताका लागि युद्ध लडिरहेको छु ।”
खानका वकीलले यो मुद्दा प्राविधिक रूपमा अझै सक्रिय रहेको र उनले औपचारिक रूपमा ‘क्षमायाचना–पत्र’ पेश गर्ने बताएका छन् ।