न्याय हुनेगरी टिकट वितरण नभए विद्रोह गर्ने शेखर कोइराला पक्षका नेताहरुको चेतावनी



काठमाडौँ । पार्टी संस्थापन पक्षले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारी चयनमा एकलौटी गरेको भन्दै नेता डा. शेखर कोइराला पक्षले आपत्ति जनाएको छ ।

शनिबार काठमाडौंमा खवरदारी सभाको आयोजना गरी कोइराला पक्षका नेताहरुले निर्णय नच्याए पार्टी भित्र विद्रोह गर्न बाध्य हुने चेतावनी दिएका हुन् । सभामा नेता गुरु घिमिरेले पार्टीमा सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनको टिकट वितरण नभए आफूहरु विद्रोह गर्न बाध्य हुने चेतावनी दिए ।


उनले समानुपातिकतर्फको टिकट वितरणको सूची तत्काल सच्याउन पनि पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरे । घिमिरेले आफ्नो समूहका पदाधिकारीहरुलाई संस्थापन पक्षले अन्याय गर्दा पनि टुलुटुलु हेरर बस्ने काम नगर्न चेतावनी दिए ।

उनले भने, ‘पार्टीमा सबैलाई न्याय हुने गरी सभापतिजीले टिकट वितरणमा गरेका निर्णय सच्याउनु भएन भने पार्टी भित्र विद्रोह हुन्छ ।’

अर्का नेता भुपेन्द्रजंग शाहीले आगामी निर्वाचनको टिकट वितरणमा पार्टी भित्र न्याय नभए विद्रोह गर्ने चेतावनी दिए । उनले पार्टीले टिकट नदिएपनि आफू कालिकोटमा प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरे ।

नेता बद्रीनरसिंह केसीले समानुपातिकतर्फको निर्वाचनको सूची पार्टी सभापति देउवाले आगामी असोज १६ गतेसम्म नसच्याए आफूहरु विदोह गरेर अघि बढ्न बाध्य हुने बताए ।

सभापतिले निर्वाचनको टिकट वितरणमा एकलौटी निर्णय लिने कामलाई अघि बढाएको भन्दै उनले आपत्ति जनाए । उनले भने,‘समानुपातिक तर्फको टिकट दिने काममा एकलौटी गरियो । १६ गतेसम्म त्यो नसच्चिए त्यसको विकल्पमा हामी अगाडि बढछौं ।’