नेपाल पर्यटनका लागि सदावहार गन्तव्य : पर्यटनमन्त्री श्रेष्ठ



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाललाई सदावहार पर्यटकीय गन्तव्यका रूपमा प्रचारप्रसार गरिने बताएका छन् ।

नेपाल पर्यटन बोर्डले आयोजना गरेको ‘प्रिजेन्टिङ नेपाल फोटो कम्पिटिसन २०२२’का विजयीलाई पुरस्कृत गर्दै मन्त्री श्रेष्ठले नेपालमा बाह्रै महिना पर्यटन गतिविधि सञ्चालनका लागि सरोकारवालासँग समन्वय र सहकार्य जरुरी भएको उल्लेख गरे । उनले नेपाललाई सदावहार पर्यटकीय गन्तव्यका रूपमा प्रचारप्रसार गर्न सके यसबाट नेपालले ठूलो आर्थिक लाभ लिन सक्ने बताए ।


पर्यटनमन्त्री श्रेष्ठले नेपाल नेचर, कल्चर र एडभेन्चर हरेक हिसाबले विश्वकै उत्कृष्ट गन्तव्य भएको बताए । यिनीहरुको प्रर्वद्धनका लागि फोटो महत्वपूर्ण माध्यम भएको उनको भनाइ थियो ।

बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले बोर्डले नेपालको पर्यटन प्रर्वद्धनका लागि फोटोको प्रयोगलाई उच्च प्राथमिकतामा राखेको बताउँदै विजयी फोटोग्राफरलाई बधाई ज्ञापन गरे ।