निर्वाचन केन्द्रित हुँदै म्याग्दीका राजनीतिक दलहरु



गलेश्वर । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा म्याग्दीका राजनीतिक दलहरू उम्मेदवार सिफारिस गरेसँगै निर्वाचन केन्द्रीत कार्यक्रममा केन्द्रित हुन थालेका छन् ।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा सत्ता गठबन्धनदल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जिल्लाबाट सबै निर्वाचन क्षेत्रका लागि उम्मेदवारको सिफारिस गरिसकेका छन् । म्याग्दीमा क्रियाशील ठूला राजनीतिक दलहरूमध्ये नेकपा एमालेले पार्टी तथा जनवर्गीय संगठन लक्षित निर्वाचन कार्यक्रमलाई तीव्रता दिएको छ ।


नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि पार्टीका विभिन्न कमिटीबाट उम्मेदवार चयनका लागि सिफारिस गर्ने कार्य सम्पन्न गरेको जनाएका छन् । सम्पन्न स्थानीय तहको निर्वाचनमा म्याग्दीका एक नगरपालिका र पाँच गाउँपालिकामा गठबन्धनले एक गाउँपालिकामा मात्र विजय हासिल गरेको थियो । बेनी नगरपालिकामा नेपाली कांग्रेस  नेकपा माओवादीसहितको गठबन्धन भए पनि विजयी हुन सकेको थिएन । कांग्रेसले एक्लै रघुगङ्गामा विजय प्राप्त गरेको थियो भने नेकपा एमालेले मङ्गला, मालिका, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा विजय हासिल गरेको थियो ।

आगामी निर्वाचनबाट जनताका पीर-मर्का समाधान गर्ने योग्य र सक्षम प्रतिनिधि चयन गर्न मतदान गर्ने कुरालाई मतदाताले जोड दिन थालेका छन् । सोही निर्वाचनका लागि स्थानीय प्रशासन र जिल्ला निर्वाचन कार्यालयले राजनीतिक दलहरूको सहमतिमा केही मतदान केन्द्रको हेरफेर गरेको छन् । साथै मतदान केन्द्रको थप गरी शान्ति सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउने तयारीसमेत गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

जनताको साथमा कांग्रेस र ‘जनतासँग एमाले’ कार्यक्रम सञ्चालन

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले म्याग्दीले जिल्लामा ‘जनतासँग एमाले’ कार्यक्रम सञ्चालन गरेको छ । स्थानीय जनताको समस्या बुझ्न तथा योजना र अपेक्षा संकलन गर्ने गरी ‘जनतासँग एमाले’ कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरेको सो पार्टीले जनाएको छ । कांग्रेसले  भदौ दोस्रो सातादेखि नै जनताको साथमा कांग्रेस कार्यक्रम सबै पालिकामा सञ्चालन गरिसकेको छ ।

एमाले मालिका गाउँपालिका कमिटीको आयोजनामा दरबाङमा सम्पन्न बैठकले पालिकाभित्रका सबै वडामा वडास्तरीय बैठक तथा अगुवा कार्यकर्ता भेला आयोजना गरिसकेको छ । गाउँपालिका कमिटीको बैठक तथा भेलालाई सम्बोधन गर्दै एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य एवं आसन्न प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हरिकृष्ण श्रेष्ठले पार्टी सङ्गठनलाई बलियो बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले पार्टीले आफूलाई प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारको रुपमा सिफारिस गरेको अवस्थामा जिल्लाको सबै वडामा पुग्ने प्रतिबद्धता जनाउँदै आसन्न निर्वाचनको नतिजा पार्टीको पक्षमा आउने गरी खट्न पाटीका सबै पङ्ति र नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

गठबन्धनका दलहरूले पनि प्रतिनिधिसभा निर्वाचनका लागि आआफ्नो पार्टीबाट उम्मेदवार सिफारिस गरेका छन् । म्याग्दीको कोटामा कुन दल पर्ने र कसले टिकट पाउने भन्ने टुङ्गो नलागिसकेको अवस्थामा पनि गठबन्धनका दलहरुसमेत सिफारिस गरिएका उम्मेदवारसहित निर्वाचन केन्द्रित कार्यक्रममा जुटेका छन् ।