नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि हुबहु पारित



काठमाडौँ । राष्ट्रियसभाबाट नागरिकता विधेयक हुबहु पारित भएको छ । प्रतिनिधिसभाबाट पारित भएको विधेयक शुक्रबार राष्ट्रियसभाबाट पनि हुबहु बहुमतले पारित भएको हो ।

अब विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस हुनेछ । यसअघि दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि पठाइएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् ।


प्रतिनिधिसभाले कुनै परिवर्तन नगरी बहुमतबाट विधेयक पारित गरेको थियो । त्यसपछि विधेयक राष्ट्रियसभामा पठाइएको थियो । राष्ट्रियसभाले विधेयकलाई विधायन व्यवस्थापन समितिमा छलफलका लागि पठाएको थियो । तर, भदौ १५ मा विधायन समितिबाट पनि हुबहु पारित भएर आएको विधेयक शुक्रबार राष्ट्रियसभाबाट पारित भएको हो ।

दुवै सदनबाट पुरानै अवस्थामा पारित भएको विधेयकलाई अब भने राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ । असार २४ गते दर्ता भएको यो विधेयक प्रतिनिधिसभाबाट साउन ६ र राष्ट्रियसभाबाट १२ गते पारित भइ साउन १४ गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको थियो ।

तर, विधेयक प्रमाणीकरण नगरी २९ साउनमा राष्ट्रपति भण्डारीले आठ वटा बुँदामा सन्देशसहित विधेयक फिर्ता गरेकी थिइन् ।