नागरिकतालाई सौदावाजीको विषय बनाउनु हुँदैनः महासचिव पोखरेल



काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको विकास र समृद्धि चाहने सबै देशभक्त, प्रगतिशील नेपालीलाई एमालेको झण्डामुनि गोलबन्द हुन आह्वान गरेका छन् ।

नेकपा (एमाले) मा प्रवेश गर्ने अन्य पार्टीका नेता कार्यकर्ताहरूको सङ्ख्या लाख नाघेको अवसरमा शनिबार पार्टी कार्यालय, च्यासलमा आयोजित ‘पार्टी क्रस, लाख क्रस’ कार्यक्रममा महासचिव पोखरेलले विकास, समृद्धि र अग्रगमनको चाहना राख्ने सबैलाई पार्टीमा स्वागत गरिने वताएका हुन् ।


महासचिव पोखरेलले नेकपा (एमाले) नीति, नेतृत्व र गन्तव्यका हिसावले स्पष्ट रहेको र आगामी निर्वाचनपछि स्पष्ट बहुमतको सरकार गठन गरी देशको विकास र जनताको हितमा काम गर्न चाहेको बताए ।

उनले विभिन्न दल त्याग गरी एमालेमा समाहित भएका नेताकार्यकर्ताबाट पार्टीलाई राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न र आगामी निर्वाचनमा पार्टीलाई बहुमतका साथ विजयी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

आगामी निर्वाचन देशको भाग्य र भविष्यसँग गाँसिएको, विकास र समृद्धिसँग जोडिएको वताउँदै महासचिव पोखरेलले आह्वान गरे ।

उनले भने, ‘देशको विकास र समृद्धि चाहनुहुन्छ भने त्यसका लागि एमालेमात्र सक्षम छ, आउनुस् एमालेमा, समाजवादको दिशामा अगाडि बढ्न चाहनुहुन्छ भने आउनुस् एमालेमा, हामी राष्ट्र निर्माणमा हरेक नेपालीलाई सामेल गर्न चाहन्छौं, राष्ट्रिय स्वाभिमान, स्वाधीनता चाहने देशभक्त नेपाली आउनुस् एमालेमा । कतिपय बामपन्थी दलहरू यथास्थितिवादी नेपाली काँग्रेस र शेरबहादुर देउवाको पछाडि लागिरहेका छन्, उनीहरूको त्यो यात्रा वामपन्थ माथिको गद्दारी हो ।’

पाँच दलीय गठबन्धन नीति, नेतृत्व र गन्तव्य सबै कुरामा अस्पष्ट र अन्योलमा रहेकाले आगामी निर्वाचनपछि देशको नेतृत्व गर्न नसक्ने महासचिव पोखरेलको भनाई थियो । पाँचदलीय गठबन्धनले नागरिकताको विषयमा जनता विभाजित गर्ने प्रयास गरिरहेको भन्दै महासचिव पोखरेलले नागरिकता राष्ट्रको परिचय भएकाले यसलाई सौदावाजीको विषय बनाउन नहुने वताए ।

उनले आगामी निर्वाचनपछि जनताले एमालेलाई बहुमतका साथ सरकार गठनको अवसर दिने विश्वास व्यक्त गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने एमालेको सरकारले नागरिकताको समस्या राष्ट्रिय सहमतिका साथ सधैका लागि समाधान गर्ने बताए । महासचिव पोखरेलले नागरिकताका विषयमा राष्ट्रपतिको मार्गनिर्देशनलाई समेत सम्बोधन गरिने स्पष्ट गरे ।

महासचिव पोखरेलले आगामी निर्वाचनपछिको एमाले नेतृत्वको सरकारले नागरिकता, सुकुम्वासी तथा भूमिहीनका समस्या समाधान, युवाशक्तिलाई देशको निर्माणमा परिचालन, रोजगारी र उद्यमशीलताको विकास लगायत विषयलाई प्राथमिकतामा राखिने वताए ।

महासचिव पोखरेलले विगत केही महिनायता विभिन्न पार्टीबाट केन्द्रीय सदस्यहरू, पूर्वमन्त्रीहरू, प्रतिनिधि सभा र प्रदेशसभाका सांसदहरू लगायत ठूलो सङ्ख्यामा नेताकार्यकर्ता एमालेमा प्रवेश गरेका बताए ।

करिव दुईलाख मानिस एमालेमा प्रवेश
कार्यक्रममा एमाले प्रवेश गरेका डेढलाख भन्दा बढीको जिल्लागत तथ्याङ्क प्रस्तुत गरिएको थियो । यो सङ्ख्या पचास जिल्लाको मात्र रहेको र सबै जिल्लाको सङ्कलन गर्दा दुईलाख भन्दा बढी हुने वताइएको छ ।

नेकपा (एमाले) ले आगामी निर्वाचनमा बहुमतका साथ विजय प्राप्त गर्न प्रत्येक पार्टी सदस्यले ‘दुई नयाँ मतदाता थप्ने र पाँच पुराना मतदाताको मत संरक्षण गर्ने’ नीति लिएको छ ।