नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता एनआरएन विजयी



काठमाडाैँ । नवौँ राष्ट्रिय खेदकुद प्रतियोगिताअन्तर्गत राजधानीमा आजदेखि सुरु भएको पुरुष क्रिकेट खेलमा एनआरएन एकेडेमीले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एनआरएनले सुदूरपश्चिमलाई १२ रनले पराजित गर्दै विजयी हात पारेको हो ।

खेलमा पहिला ब्याटिङ गरेको एनआरएनले सुदूरपश्चिम प्रदेशलाई ७५ रनको लक्ष्य दिएको थियो । जवाफमा सुदूरपश्चिम छ ओभरमा छ विकेट गुमाउदै ६२ रनमा समेटियो । वर्षाका कारण खेल मैदान भिजेपछि निर्धारित समयभन्दा ढिला शुरु भएको खेललाई छ ओभरमा घटाइएको थियो ।


सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक १२ रनको योगदान दिए भने कप्तान राजु रिजालले ११ रन जोडे । त्यसैगरी बसन्त खत्री १० रनमा आउट हुदाँ शेर मल्लले आठ रन बनाए । लोकेन्द्र चन्दले सात, बसन्त कार्की र नारायण जोशीले समान ४÷४ रन बनाए । बलिङतर्फ एनआरएनका आशिष पोखरेल र दिपक क्षेत्रीले समान ३÷३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको एनआरएनका लागि सागर पुनले सर्वाधिक ४६ रनको योगदान दिए भने कप्तान सुमन गौतमले २५ रनको योगदान दिए । बलिङमा सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्ले समान २÷२ विकेट लिए । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्गत पुरुष क्रिकेटमा सात प्रदेश, तीन विभागिय टोली र एनआरएन गरी ११ टोलीको सहभागिता रहेको छ ।