धार्मिक पर्यटकीयस्थल मूलखर्क भीमसेन ओझेलमा



बनेपा । ललितपुर जिल्लाको जावलाखेल निवासी कृष्णगोपाल स्थापित मुलखर्क भीमसेन मन्दिर दर्शन गर्नका लागि शनिबार सापिङ आइपुगे । उक्त मन्दिरको महिमा र औचित्यबारे युटुब हेरेर थाहा पाएपछि काभ्रेपलाञ्चोकको भुम्लुस्थित मूलखर्क भीसमेन दर्शन गर्न आएका उनले मन्दिरसम्म जाने मोटरबाटोको समस्याका कारण दुःख पाइएको बताए ।

भुम्लु गाउँपालिका–१ सापिङमा रहेको मन्दिर दर्शनकै लागि ३० साथीको नेतृत्व गर्दै आउनुभएका स्थापितले त्यहाँको गरिमाबारे जति चर्चा भएको थियो त्यसअनुसार त्यहाँसम्म जाने पूर्वाधारको राम्रो व्यवस्था नहुँदा आफूजस्तै धेरै धार्मिक पर्यटकले दुःख पाउने गरेको गुनासो सुनाए ।
“युटुब हेरेर पहिलो पटक बाटो सोध्दै यहाँसम्म आएको हुँ ।” उनले भने “बरु रामेछापतिर जाने सडक राम्रो रहेछ, यता भीमसेन मन्दिर जाने बाटो पनि सुधार भएको खण्डमा अझै धेरै धार्मिक पर्यटक बढ्ने देखिन्छ ।” स्थानीयवासीले मन्दिरसम्म नै गाडी जान्छ भनेकाले आफूहरु खाल्टो र हिलोमा फसेर दुःख पाएको उनले गुनासो गरे । मन्दिरदेखि वरतिरै गाडी राखेर हिँड्दै जाँदा बरु राम्रो हुने उनको भनाइ थियो।


सापिङ निवासी मनकुमारी गिरीले मनोकांक्षा पूरा हुने भएकाले स्थानीय बासिन्दाले मूलखर्क भीमसेनको दर्शन र पूजा गर्दै आएको र पछिल्लो समयमा यसको प्रचार बढ्दै गएपछि बाहिरबाटसमेत दर्शन गर्न आउनेको सङ्ख्या वृद्धि भएको बताए । गाउँको सबैभन्दा अग्लो भाग जङ्गलको बीचमा रहेको भीमसेन मन्दिरमा मागेको कुरा पूरा हुने जनविश्वास रहेका कारण विभिन्न स्थानबाट दर्शन गर्नका लागि आउने भक्तजनको घुइँचो लाग्ने गरेको छ। मन्दिर दर्शन गरेर मनोकांक्षा पूरा गर्ने र वरिपरिका मनोरम दृश्यका साथै हिमशङ्ंखालसमेत हेर्न पाइने त्यहाँ पुग्नेहरु बताउँछन् ।

उक्त मन्दिरमा खानेपानी ब्यवस्थाका साथै वृद्धाश्रम र सत्तल निर्माणको काम भएको छ । गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलका अनुसार भीमसेन मन्दिर क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धन गर्न वृस्तित परियोजना प्रतिवेदन(डिपिआर) निर्माणको काम पनि भइरहेको छ ।
“सङ्घीय सरकारको सहयोगमा करिब रु तीन करोडको लागतमा वृद्धआश्राम भवन निर्माण भइरहेको छ ।” उनले भने, “त्यससँगै सत्तल निर्माण र भूकम्पले जीर्ण रहेको मन्दिरसमेत मर्मतसम्भार गरेर थप व्यवस्थित गर्ने काममा यस आर्थिक वर्षमै पनि पालिकाले आवश्यक बजेट विनियोजन गरिसकेको छ ।” भुम्लुसम्म पक्की सडक भएको र त्यहाँबाट मन्दिरसम्म जानका लागि कच्ची सडक भए पनि आवतजावतमा खासै समस्या नहुने अध्यक्ष भुजेलको भनाइ थियो ।

धार्मिक दृष्टिकोणले प्रसिद्ध रहेको उक्त मन्दिर जाने बाटो आगामी दिनमा सुधार गर्दै थप पूर्वाधार विकासको लागि पालिका लागिरहेको जानकारी दिँदै उनले कृषि क्षेत्रको लागि किबी, कफी र कागती उत्पादनको लागि अति उपयुक्त भूमि रहेका कारण त्यसतर्फ किसानलाई उत्पादनतर्फ जोड दिँदै आएको बताए ।

पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना रहेको सो क्षेत्रमा यसअघि ‘पर्यटन वर्ष २०२०’ लाई लक्ष्य गरी ‘प्रथम मूलखर्क भीमसेन सांस्कृतिक महोत्सव २०७६’ मनाइएको थियो । मूलखर्क भीमसेन मन्दिरको ऐतिहासिक महत्वलाई उजागर गर्दै त्यहाँका कृषि, पर्यटन विकास र प्राकृतिक सुन्दरताको अवलोकन गर्न सकिने रमणीय क्षेत्रको भौतिक पूर्वाधार विकास गर्न स्थानीय सरकार र निजी क्षेत्र, सङ्घ÷संस्था र स्थानीय बासिन्दा सबै एक भएर लाग्नुपर्नेमा पालिकाले जोड दिएको छ । पानी र बिजुलीको व्यवस्था भइसकेको सो क्षेत्रमा पिकनिकस्थलका साथै अन्य आवश्यक भौतिक संरचना निर्माण गर्न गाउँपालिका लागिरहेको छ ।