देश पाँच दलीय गठबन्धनको हातमा गए बर्बाद हुन्छः ओली



जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते हुन लागेको निर्वाचन देशको भविष्य निर्धारण गर्ने बताएका छन् । सोमबार जनकपुरधाममा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही दलहरु एमालेसँग डराएर गठबन्धनको नौटंकी गरिरहेका बताए ।

उनले एमाले पार्टी ती गठबन्धनसँग नडराई एक्लै चुनावी मैदानमा लड्न तयार रहेको बताए । अध्यक्ष ओलीले आउँदो निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनको हातमा गए देश बर्बाद हुने बताए । एमाले पार्टी जितेमा मात्रै देश समृद्ध र विकसित हुने उनले दाबी गरे ।


नागरिकता विधेयकको प्रसंगमा अध्यक्ष ओलीले भने, ‘जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको आधारमा नागरिकता दिइयो भने भोलि नै प्रमाणीकरणमा सहयोग गर्नेछौं ।’

नागरिकता विहीन जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनु पर्छ भनी एमाले पार्टीले ४ वर्षअघि नै विधेयक ल्याएको उनले बताए । उनले भने, ‘विधेयक ल्याइयो तर यी पाँचदलीय गठबन्धनमा रहेका दलहरुले पास हुन दिएनन् । अध्यादेशमार्फत समस्या समाधान गर्न खोज्यौं त्यसमा पनि अवरोध गरे।’

कार्यक्रममा कांग्रेसका धनुषाका पूर्वउपसभापति सन्तोष यादव, जसपा प्रतिनिधिसभा सदस्य रुहीनाज, प्रदेशसभा सदस्य अन्जु यादव, लोसपाका केन्द्रीय सदस्य अरविन्द साह लगायत विभिन्न पार्टीका सयौं नेता एमालेमा प्रवेश गरेका थिए ।