तीन बजेसम्म पहिरो पन्छाउने गरी काम हुँदै



चितवन । निरन्तर वर्षात्सँगै ठाउँ–ठाउँमा खसेको पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो ३ बजेसम्म खुलाउने गरी काम भइरहेको छ । सो सडकको केराबारीको मौरीखोला र अठार किलोमा ठूलो पहिराका साथै ठाउँ–ठाउँमा साना पहिरा खसेका छन् ।

भरतपुर डिभिजन सडक कार्यालयका इञ्जीनियर सागर कार्कीका अनुसार मौरीपुलबाहेकका पहिरो पन्छाइसकिएको छ । मौरीपुलमा दुई लोडर, दुई व्याकलोडर र एउटा एक्साभेटरले काम गरिरहेको छ । सो ठाउँमा ६० मिटर सडक पहिराले ढाकिएकामा आठ मिटर चौडा र पाँच मिटर अग्लो पहिरो पन्छाउने काम भइरहेको छ ।


अठार किलोमा २० मिटर लामो ११ मिटर चौडा र एक दशमलव पाँच मिटर सडक पहिराले ढाकेको थियो । बिहान ५ः५० बजेदेखि सडक अवरुद्ध भएका कारण धेरै सवारीसाधन जाममा परेका छन् । वर्षात्को समयमा बारम्बार पहिरो खस्दा यो सडक हुँदै यात्रा गर्ने यात्रुले दुःख पाउने गरेका छन् । सडक खुलेपछि पनि राति अबेरसम्म सवारी साधन जाम हुने गर्दछ ।