तनाव बढाएर नागरिकता विधेयकको समस्या समाधान हुँदैनः अध्यक्ष ओली



विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तनाव बढाएर नागरिकता विधेयकको समस्या समाधान नहुने बताएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले राष्ट्रपतिले पुनर्विचारका लागि पठाएको विधेयकलाई जस्ताको तस्तै पठाउनु बाउन्सर लगाएर थर्काएजस्तै भएको बताएका हुन् ।


उनले नागरिकता विधेयकमा शंशोधन प्रस्ताव ल्याउन सरकारसँग आग्रह गरे । उनले भने, ‘संसदभन्दा बाहिरबाट निर्णय गरेर मसल देखाउने ? छक्का हानेर रिङ आउट गर्दिन्छौँ भन्ने ?’

प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो भन्दै प्रश्न गर्दै अध्यक्ष ओलीले यो बाउन्सर लगाएर ठिक गर्ने नभएको बताए । उनले संसद तर्क र विधिविधानले चल्ने बताए ।

शुक्रबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प नभएको बताएका थिए । उनले विधेयक प्रमाणीकरण नगरे राजीनामा दिनुपर्ने बताएका थिए ।

उनले हरेक आरोप प्रतिपक्षीलाई लगाउन सरकार प्रयासरत रहेको बताए । उनले भने,‘यो विधेयक फिर्ता लिएर जन्मसिद्ध नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता पाउनेछन् भनेर विधेयक ल्याए हुन्छ । सरकारले चाहेको खण्डमा यति तीन दिनमा हुन्छ ।’