काठमाडाैँ । ढिकीमा कहाँनेर मान्छेले बल लगाउँछ ? कहाँनेर गुरुत्व बल लाग्छ र चामल बन्छ ? जाँतोले कसरी अन्नलाई पिठोमा परिणत गर्छ ? पानीघट्ट चल्दा विज्ञानका कुन–कुन सिद्धान्तले काम गर्छन् ? अनि रकेट कसरी अन्तरिक्षसम्म पुग्छ ?
अबको तीन वर्षपछि आफ्ना पुर्खाले विकास गरेका परम्परागत प्रविधिदेखि आधुनिक विज्ञान प्रविधिका मुख्य–मुख्य नमूना कीर्तिपुरमा देख्न पाइने छ । त्यहाँस्थित विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा विज्ञान संग्रहालयका प्रमुख सनतकुमार शर्माका अनुसार संग्रहालयलाई नेपालसहित विश्वका विभिन्न भागमा भएका विज्ञान र प्रविधि क्षेत्रका थुप्रै उपलब्धिसम्बन्धी प्रदर्शन गर्ने गरी ‘साइन्स सिटी’ मा परिणत गरिँदैछ । अहिले संग्रहालयलाई त्रिभुवन विश्वविद्यालयले उपलब्ध गराएका सबै क्षेत्र समेट्ने गरी कुल एक सय ५० रोपनी क्षेत्रफलमा ‘साइन्स सिटी’ बन्नेछ ।
शुक्रवार मनाइएको राष्ट्रिय विज्ञान दिवसका सन्दर्भमा कुरा गर्दै उनले यससम्बन्धी गुरुयोजना तयार पारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा स्वीकृतिका लागि पठाइएकोसमेत जानकारी दिए । यस योजनाअनुसार काम शुरु भएपछि तीन वर्षभित्र भूमिगत कक्षहरूसहितको ठूलो क्षेत्रफलमा विज्ञानका उपलब्धिहरू राखिने छन् ।
‘यही संग्रहालयमा ठूला–ठूला अक्वारियम, तारामण्डल र ग्रहहरू हेर्न सकिने अब्जरभेटरी, विश्वले विज्ञानमा गरिरहेका नयाँ–नयाँ उपलब्धिहरू तथा विज्ञानको इतिहाससमेत हेर्न पाइने छ’, शर्माले भने । यसबाहेक डाइनोसरको सम्पूर्ण विषयवस्तु थाहा दिने गरी एक डाइनोसर पार्क पनि बनाइने छ । अब्जरभेटरीबाट नेपालका आकाशमा उदाउने ग्रह र नक्षेत्रको अवस्थिति र गतिबारे प्रत्यक्ष ज्ञान हुनेछ ।
राष्ट्रियस्तरमा देशकै पहिलो र एक मात्र विज्ञान संग्रहालयका रूपमा रहेको यो विज्ञान संग्रहालयको उद्घाटन तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ साल असोज १ गते गरेका थिए । संग्रहालयमा अहिले रोबोट, बिजुली र चुम्बकत्व, प्रकाश, दृष्टि र अप्टिकल भ्रम, ध्वनि र एप्लाइड मेकानिक्स, मानव विकास क्रम र शरीर विज्ञानका विभिन्न पक्षहरू राखिएका छन् ।
यसबाहेक ग्रह नक्षत्र अध्ययनका लागि वेधशाला र विज्ञानका विभिन्न उपलब्धि समेटिएको सानो फिल्म हल पनि त्यहीँ छ । यो हलमा विज्ञानसम्बन्धी वृत्तचित्र र फिल्महरू प्रदर्शन गरिँदै आएको छ । यसबाट सर्वसाधारण र खासगरी विज्ञानका विद्यार्थीले लाभ लिइरहेका छन् ।