डेङ्गु नियन्त्रण गर्न सांसदको ध्यानाकर्षण



काठमाडौँ । प्रतिनिधिसभाका सांसदले निर्धारित अवधिमा सडक ठेक्का सम्पन्न नहुँदा नागरिकले खेपेको हैरानी र निरन्तर फैलिरहेको डेङ्गु नियन्त्रण सरकारको ध्यान दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा उनीहरुले निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाही गर्नुपर्ने र डेङ्गु रोकथाममा लाग्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद विद्या भट्टराई निर्माणाधीन राजमार्ग जोखिम राजमार्ग बनेको भन्दै तीनलाई चाँडो सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याए ।


सांसद सीताराम महतोले सुनसरीको इनरुवाको बाटो ठेक्का लागेको आठ महिना भए पनि काम अघि नबढेकाले मन्त्रालयको ध्यानाकर्षण गराए । सांसद डा सूर्यप्रसाद पाठकले बागलुङको १० किमी सडक गत वर्ष सम्पन्न हुनुपर्नेमा ५४ प्रतिशत प्रगति रहेको भन्दै ठेक्का लिएर काम नगर्ने कम्पनीलाई कारबाही गर्नुपर्ने धारणा राखे ।

सांसद लक्ष्मी परियारले डेङ्गु फैलिएकाले रोकथामका लागि सरकारले ध्यान दिनुपर्ने बताउँदै यो संसद्ले पूरा गर्न नसकेका काम आगामी संसद्ले पूरा गर्ने अपेक्षा गरिन् । सांसद वीनादेवी बुढाथोकीले डेङ्गुले भयावह रुप लिएको र समयमा नियन्त्रण नहुँदा ठूलो धनजनको क्षति हुने भएकाले सरकारले ध्यान दिनुपर्नेमा जोड दिइन् ।

सांसद लक्ष्मीकुमारी चौधरीले गत वर्ष वर्षाका कारण धानबालीमा क्षति नपाएकाले सो रकम बढाएर स्थानीय तहमा पठाउनुपर्ने बताइन् । सांसद लालप्रसाद साँवा लिम्बूले नदी नियन्त्रण प्रभावकारी बनाउन सुरु गरिएको जनताको तटबन्ध कार्यक्रम सुरु गरिए पनि कतिपय स्थानमा अहिले निरन्तर नभएकाले निरन्तरताको माग गरे ।

सांसद बीनाकुमारी श्रेष्ठले नेपालीको प्रमुख चाड आउँदै गर्दा महँगी बढेको र निम्न वर्गका नागरिकले फुटपाथका पसलबाट कम मूल्यमा सामान पाउने भएकाले क्षेत्र निर्धारण गरेर तीनलाई व्यवस्थापन गर्नुपर्ने बताइन् ।

सांसद विमला विश्वकर्माले चाडपर्व आउँदा सानो व्यापारी विचल्लीमा परेकाले भए पनि श्रमिकलाई चाडपर्वमा भोकभोकै गर्नु ठीक नभएको बताए ।