टाटा सन्सका पूर्वअध्यक्ष मिस्त्रीको सवारी दुर्घटनामा मृत्यु



टाटा सन्सका पूर्व अध्यक्ष साइरस मिस्त्रीको आइतबार मुम्बई नजिकै भएको सडक दुर्घटनामा मृत्यु भएको छ । पालघर प्रहरीका अनुसार मिस्त्री अहमदाबादबाट मुम्बई जाँदै गर्दा उनको कार डिभाइडर ठोक्किएर दुर्घटना भएको थियो । कारमा चार जना सवार थिए ।

मिस्त्रीसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनालाई उपचारका लागि अस्पताल लगिएको छ । राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) की सांसद सुप्रिया सुलेले ट्विटरमा लेखेकी छन्, ‘अत्यन्तै दुखद् खबर । मेरा भाइ साइरस मिस्त्रीको निधन भएको छ । विश्वास गर्न सकिरहेको छैन । आत्मले शान्ति पाओस साइरस ।’ आरपीजी इन्टरप्राइजेजका अध्यक्ष हर्ष गोयन्काले पनि मिस्त्रीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।


‘साइरस मिस्त्रीको दुर्घटनामा निधन भएको खबर सुन्दा निकै दुःख लागेको छ । उहाँ एक मित्र, एक सज्जन मानिस हुनुहुन्थ्यो ।’

साइरसले विश्वव्यापी निर्माण कम्पनी शापूर्जी पालोनजीको निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्दै टाटा समूहको सक्षम नेतृत्व गरेको थियो । टाटा सन्सका छैटौं अध्यक्ष मिस्त्रीलाई सन् २०१६ को अक्टोबरमा पदबाट हटाइएको थियो । सन् २०१२ को डिसेम्बरमा रतन टाटाले सन्यासको घोषणा गरेपछि उनले अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।