जोत्नेलाई भूमि दिए मात्र भूमिसुधार हुन्छ: दुर्गा पौडेल



काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले सङ्घीयता र नागरिकता विधेयकलगायतमा आफ्नो पार्टीको असहमति भए पनि वर्तमान संसद्को कार्यकाल सफल भएको बताएकी छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा उनले नेपालको प्रादेशिक संरचना निर्माण गर्दा अनुत्पादक ठाउँमा लगानी भएको र मुलुक भ्रष्टाचारका जालोमा परेको तर्क गर्दै यसले आर्थिक अवस्था अस्तव्यस्त बन्दै गएको बताइन् । 


उनले प्रादेशिक संरचना खारेज गर्नुपर्ने आफ्नो पार्टीको माग पूरा नभए पनि माग यथावत रहेको बताइन् । उनले अब आउने नयाँ सरकारमा पनि पाँच वर्षको स्थिर सरकार बनोस् भन्ने शुभकामना व्यक्त गरिन् ।

नागरिकताको विषयमा वंशज र अंगीकृत दिने व्यवस्थामा विधि र प्रक्रियाबाट मात्र दिइनुपर्छ भन्ने आफ्नो माग रहेको उनले स्पष्ट पारिन् । उनले नेपालको संविधानले व्यवस्था गरेको विधि र प्रक्रियाबाट आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुन लागेको धारणा राखिन् ।
 
त्यसैगरी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसद् देश र जनताको हितमा प्रभावकारी हुन नसकेको टिप्पणी गर्दै कतिपय अवस्थामा संसद्लाई दुरुपयोग गरिएको समेत आरोप लगाए ।

उनले मुलुकमा डेङ्गु रोगका कारण जनता पीडामा परिरहेको तर त्यसतर्फ सरकारको उचित ध्यान जान नसकेको भनाइ राखे । साथै उनले मुलुकमा भूमि नहुनेलाई भूमि दिएमात्र भूमिसुधार हुने उल्लेख गर्दै भने, ‘जोत्नेलाई भूमि दिएमात्र भूमिसुधार हुन्छ ।’