चितवन राष्ट्रिय निकुञ्जले स्वर्ण वर्ष मनाउँदै



चितवन । नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज यही असोज ४ गते ५० औँ वर्षमा प्रवेशका अवसरमा स्वर्ण वर्ष मनाउने भएको छ । विसं २०३० असोज ४ गते विधिवत् रुपमा यो निकुञ्जको स्थापना भएको हो ।

निकुञ्जले आफ्नो स्वर्ण वर्ष भरिनै विविध कार्यक्रमका साथ मनाउँने भएको छ । असोज ७ गते औपचारिक कार्यक्रम गरी स्वर्ण वर्ष शुभारम्भ गरिँदैछ । निकुञ्ज परिसर कसरामा स्वर्ण वर्षको शुभारम्भ गरिने निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।


महोत्सवमा स्मारिका प्रकाशन गर्ने, स्वर्ण स्तम्भ अनावरण गर्ने, मध्यवर्ती क्षेत्रका बोटे, कुमाल, थारू, गुरुङ, मगर, तामाङ, दरै आदि समुदायको संस्कृति प्रदर्शन जस्ता कार्यक्रमहरू आयोजना गरिने तिवारीले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्ज ९५२.६३ वर्ग किमि फैलिएको छ । सन् १९८४ मा विश्व सम्पदा सूचीमा सूचीकृत यस निकुञ्जमा गैँडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिङ्गे, बाँदर र लङ्गुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जङ्गली जनावरहरू पाइन्छन् ।

 यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गरलगायत सरीसृप तथा उभयचर, बसाइँ सरी आएका र रैथाने गरी पाँच सय ४६ भन्दा बढी जातका चराचुरुङ्गी एवं विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरूले यस निकुञ्जलाई अझ धनी बनाएका छन् । यिनै प्राकृतिक महत्वका वस्तुहरूको संरक्षणलाई ध्यानमा राखी सन् १९८४ मा चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो ।

यस निकुञ्जले चुरे पहाड, राप्ती, नारायणी र रिउ नदीका मुख्य क्षेत्रहरूलाई समेटेको छ । निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालको जङ्गलले ढाकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताएका छन्।

संरक्षणमा गरिएको प्रयासस्वरूप यस निकुञ्जमा हाल पाटेबाघको सङ्ख्या एक सय २८ र गैँडाको सङ्ख्या ६ सय ९४ पुगेको छ । पछिल्लो एक वर्षयता चोरी सिकारीबाट गैँडा मारिएका छैनन् । यस निकुञ्ज स्थापनासँगै विसं २०५३ मा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन गरिएको थियो । 

व्यवस्थापन समितिको क्षेत्रफल ७२९ दशमलव ३७ वर्गकिलोमिटर रहेको छ । यस राष्ट्रिय निकुञ्ज प्रदेश नं २, ३ र ४ का  चितवन, मकवानपुर, पर्सा र  नवलपरासी जिल्लाका केही भू-भागहरूमा फैलिएको छ । निकुञ्जमा एक महानगरपालिका, आठ नगरपालिका र तीन गाउँपालिका पर्दछ । ती पालिकामा दुई लाख ५० हजारभन्दा बढी जनसङ्ख्या बसोबास गर्दछन् । मध्यवर्ती क्षेत्र स्थापनासँगै निकुञ्जमा उठेको पर्यटन राजश्वको ५० प्रतिशतसम्म मध्यवर्ती क्षेत्रमा संरक्षण शिक्षा, भौतिक पूर्वाधार लगायतमा खर्च गरिँदै आएको छ ।

 हालसम्म एक अर्बभन्दा बढी रकम मध्यवर्तीमा खर्च भइसकेको छ । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले मध्यवर्ती स्थापनासँगै जनता र निकुञ्ज बीचको द्वन्द्व घटेर संरक्षणमा सहयोग पुगेको बताए । पुराना ऐन कानुनका कारण मध्यवर्तीका बासिन्दालाई केही अप्ठ्याराहरू भएको भन्दै तिनीहरूलाई संशोधन गरेर संरक्षणमा जुट्नुपर्ने उनको भनाइ छ । निकुञ्ज स्थापनाको ५० औँ वर्षको अवसरमा वर्षभरि संरक्षणसँग सम्बन्धित विभिन्न गतिविधिहरू गरिँदै छ । 

नेपाल फोटो पत्रकार महासङ्घको महाधिवेशन सौराहामा

नेपाल फोटो पत्रकार महासङ्घको दोस्रो केन्द्रीय महाधिवेशन आजदेखि सौराहामा सुरु हुँदैछ । महाधिवेशन तीन दिनसम्म चल्नेछ । महाधिवेशनमा देशभरबाट ६ सय जना प्रतिनिधि एवं पर्यवेक्षक सहभागी हुने जनाइएको छ ।

केन्द्रीय महासचिव हरिप्रसाद रेग्मीले आजदेखि महाधिवेशन हुने भए पनि महाधिवेशन उद्घाटन भने भदौ ३० गते गरिने जानकारी दिनुभयो । देशभरबाट आउने प्रतिनिधि तथा पर्यवेक्षकहरूलाई चितवनको पर्यटकीय स्थलबारे जानकारी गराउने तथा घुम्न प्रेरित गर्दै यहाँको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एक दिनअघि देखि भेला सुरु गरिने रेग्मीको भनाइ छ । 

महाधिवेशन उद्घाटनपछि बन्दसत्र सुरु हुने र अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष गरी एक/एकजना पदाधिकारीसहित कम्तीमा १७ सदस्यीय केन्द्रीय समिति चयन गरिने रेग्मीको भनाइ छ ।

भदौ ३१ गते नयाँ कार्यसमिति घोषणासँगै सौराहा घोषणापत्र जारी गर्दै महासङ्घको दोस्रो केन्द्रीय महाधिवेशन समापन गरिने रेग्मीले बताए । महासङ्घको सातवटै प्रदेश र ७४ वटा जिल्ला समिति रहेको महाधिवेशन मूल समितिका सहसंयोजक कोमलचन्द्र भगतले जानकारी दिए ।