चाडबाडमा कालोबजारी नियन्त्रण गर्न प्रभावकारी बजार अनुगमन गरिन्छ : मन्त्री बडू



काठमाडाैँ । उद्योगमन्त्री बडूले दसैँ, तिहारलगायत चाडपर्व लक्षित दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्था र महङ्गी नियन्त्रण तथा अनुगमनलाई प्रभावकारी बनाइने बताए । दैनिक उपभोग्य वस्तुको बजार अनुगमन नभएको गुनासो आम उपभोक्ताबाट आएको भन्दै उनले मन्त्रालय र मातहत निकायले सोचेअनुरूप प्रभावकारी अनुगमन गर्न नसकेको बताए । उनले तीनै तहका सरकारको समन्वय र सक्रियतामा मात्रै अनुगमन कार्यलाई प्रभावकारी बनाउन सकिने धारणा राखे ।

सातै प्रदेशका सम्बन्धित मन्त्रीसँग देखिनेगरी अनुगमन र महङ्गी नियन्त्रणका लागि छलफल गरेको भन्दै मन्त्री बडूले सबै स्थानीय तहसँग पनि चाँडै छलफल गरेर आवश्यक पहल गरिने विश्वास व्यक्त गरे । दसैँ तिहाको सहुलियत बजार असोज १ गतेदेखि सञ्चालन गरिने र त्यहाँ विगतका भन्दा धेरै वस्तुको बिक्री गरिनुका साथै राहत र प्रोत्साहन पनि बढाउने योजना रहेकाले चाडपर्वमा बजार महङ्गी नियन्त्रणमा केही हदसम्म सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गरे ।