गुप्ताद्वारा लोसपा परित्याग, सर्लाही ३ को ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिने



जनकपुरधाम । आगामी मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा देशभरबाट स्वतन्त्र उम्मेदवारी दिने चर्चाका बेला सर्लाहीबाट युवा नेता सुनिल प्रसाद गुप्ताले पनि पार्टी परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

दलहरुले निष्ठापूर्वक काम गर्न नसकेको र जनतामा बितृष्णा पैदा भएको भन्दै गुप्ताले आफू आवद्ध राजनीतिक पार्टी लोसपा परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । लोकतान्त्रिक समाजवादी पार्टीको लोकतान्त्रिक युवा फ्रन्टको अध्यक्ष भई तीन वर्षसम्म नेतृत्व गरेका गुप्ताले सो पार्टी परित्याग गरेर स्वतन्त्र रुपमै उम्मेदवारी दिने घोषणा गरेका छन् ।


गुप्ताले देशभर स्वतन्त्र उम्मेदवारको लहर चलेको र वैकल्पिक शक्तिले मात्र समस्याहरुको निकाश दिन सक्ने निष्कर्ष निकाल्दै सर्लाही ३ ख प्रदेशसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेको बताए ।

गुप्ताले राजनीतिक दलले दक्ष, योग्य, कर्तव्यनिष्ठ र संघर्षशील युवालाई भन्दा चाप्लुसीबाज, पैसा र पावरको खेती गर्नेलाई मात्र राजनीतिक अवसर दिने गरेकाले यस्तो निर्णय लिएको उनको भनाई छ ।

आयुर्वेद स्वास्थ्यकर्मी समाजको उपाध्यक्ष भएर पाँच वर्ष सम्म समाजमा काम गर्नुका साथै अन्य विभिन्न सामाजिक क्षेत्रमा लागेर जनताको सुख दुःखमा सहभागिता जÞनाउंदै आएकोले सो क्षेत्रका जनताको आकर्षण आफुप्रति रहेको युवा नेता गुप्ताको दाबी छ ।