वालिङ । स्याङ्जाको वालिङ– ८ काफलडाँडामा गौशाला निर्माण गरिएको छ । वालिङ नगरपालिकाले गाई संरक्षणका लागि वालिङ–१० स्थित स्वर्गाश्रममा निर्माण गरेको गौशालालाई स्थानान्तरण गरी काफलडाँडास्थित शिवालय धुनीको गुठीमा गौशाला बनाएर सञ्चालन गरेको हो ।
शिवालय धुनीको गुठीमा व्यवस्थित तरिकाको गौशाला निर्माण गरी गाई स्थानान्तरण गरिएको वालिङ नगरपालिका–८ का पूर्ववडा सदस्य अनन्तराज शर्माले बताए ।
शर्माका अनुसार वालिङ नगरपालिकाबाट आर्थिक वर्ष २०७८÷७९ मा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रु पाँच लाख ५० हजार, वडा कार्यालयअन्तर्गत सोही शीर्षकबाट रु दुई लाख र नगरस्तरीय योजनाबाट रु पाँच लाख गरी कूल रु १२ लाख ५० हजार प्राप्त भएको र बाँकी रु दुई लाख सरसापटीबाट निर्माण गरिएको हो ।
गाई पछिल्लो समय जथाभावी छोडिदिँदा बालीनाली खाइदिने, सडकमा हुलका हुल हुँदा दुर्घटना हुनसक्ने भएकाले त्यसको व्यवस्थापनका लागि गौशाला निर्माण गरिएको हो । “पहिला गौशाला निर्माण गरिएको ठाउँ आवतजावतका लागि अपायक, प्रशस्त चरन नहुनु, आवश्यक पर्ने दानापानी पु¥याउन समस्या भएको थियो”, उनले भने, “काफलडाँडामा यातायातको सहजता, मानिसको आवतजावत धेरै हुने हुँदा गाईको रेखदेख र संरक्षण, प्रशस्त चरन क्षेत्र हुनुका साथै शिवालय धुनीको गुठीमा गौशाला निर्माणका लागि जग्गा प्राप्त भएकाले स्थानान्तरण गरेका हौँ ।”
गौशालामा हाल सानाठूला गरी ८७ गाई तथा बाच्छाबाच्छी रहेका छन् । गौशालामा आवश्यक भौतिक संरचना केही निर्माण भएका र बाँकी थप गर्दै लगिने धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रमका अध्यक्ष ढालप्रसाद पौडेलले बताए ।
वालिङ नगरपालिकाको सहयोगमा निर्माण गरिएको गौशालाको रेखदेख तथा संरक्षण कार्य समितिमार्फत गरिएको छ । “गाईका लागि आवश्यकपर्ने प्रशस्त दानापानी तथा घाँस काटेर खुवाउन सकिने अवस्था छैन”, उनले भने, “गाई हेरालुकारुपमा दुई जनालाई पारिश्रमिक दिएर राखिएको र उनीहरुले गाई दैनिक फुकाएर चराउने गर्दै आएका छन् ।”
यस ठाउँमा सुरुआती चरण भएकाले पनि सबै व्यवस्थापन नभइसकेकाले क्रमशः पराल, खर, दानापानी तथा भण्डारणको व्यवस्थातिर जोड दिँदै जाने उनले बताए । गौशालामा गाईको मलमूत्र छुट्टाछुट्टै सङ्कलन गरी बिक्री गरी आम्दानीमा राख्ने निर्णय समितिले गरेको छ ।
वालिङ बजार तथा आसपासका क्षेत्रमा छाडा छोडिएका पशु चौपायाका कारण स्थानीयको बालीनालीमा नोक्सानी भएको गुनासो अत्यधिक आउन थालेकाले गाई संरक्षणका लागि दीर्घकालीन योजनाका रुपमा गौशाला निर्माण गरिएको हो ।