गणेशचोकबाट मङ्गलगढी चोकसम्म रहेका सडक क्षेत्रका संरचना हटाउन निर्देशन



कर्णाली । वीरेन्द्रनगर नगरपालिकाले गणेशचोकबाट मङ्गलगढी चोकसम्म रहेका सडक क्षेत्रमा पर्ने संरचना हटाउन निर्देशन दिएको छ । नगरपालिकाले मुख्य बजार क्षेत्रमा अवस्थित उक्त सडकको स्तरोन्नति भइरहेकाले विद्युत्, टेलिकमका पोल–तारलगायत निजी क्षेत्रबाट बनाइएका संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरहरि तिवारीले पूर्वाधार निर्माणसँग सम्बन्धित निकाय र अन्य सरोकारवालासँग गरिएको बैठकको निर्णयका आधारमा सडक क्षेत्राधिकारभित्र पर्ने नक्सापास अनुमति नलिई निर्माण भएका स्थायी÷अस्थायी संरचनाहरू सात दिनभित्र खाली गर्न निर्देशन दिएको जानकारी दिए ।


नगरपालिकाले यदि तोकिएको अवधिमा त्यस्ता संरचना हटाउन अटेरी गर्ने सरोकारवाला निकाय तथा घर–जग्गाधनीलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ । सडक क्षेत्रमा बनाइएका संरचना खाली नगर्दा सडक स्तरोन्नति कार्य प्रभावित भएपछि नगरपालिकाले सातदिने अल्टिमेटम दिएको हो । रु १२ करोड लागतमा चार लेनको सडक बनाइँदैछ ।