खोलाले बगाएका शिक्षकको २२ घण्टापछि उद्धार



सिन्धुपाल्चाेक । नुहाउन जाने क्रममा लडेर हेलम्बु–१ छ्यादी खोलाले बगाएका शिक्षकको उद्धार गरिएको छ ।

दोलखा कालीञ्चोक–३ घर भएका शिक्षक केशव सिवाकोटीको नेपाली सेनाले हेलिकप्टरमार्फत आज २२ घण्टापछि उद्धार गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए । उनलाई छ्यादी खोलाको अप्ठ्यारो भूगोलमा ढुङ्गाको कापबाट उद्धार गरिएको हो ।


हेलम्बु गाउँपालिकाको सर्कथली आधारभूत विद्यालयमा कार्यरत शिक्षक सिवाकोटी हिजो नुहाउन जाँदा खोलामा लडेर बेपत्ता भएका थिए । आज बिहान सकुशल रहेको जानकारी पाएपछि सेनाले उनलाई हेलम्बु– १ ठाडो खोला भिरमा अड्केको अवस्थामा उद्धार गरेको हो ।

उनलाई उपचारका लागि काठमाडौँको केएमसी अस्पताल लगिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । खुट्टामा सामान्य चोटपटक लागेको उनको अवस्था सामान्य रहेको शेर्पाले जानकारी दिए । उनको उद्धारमा सेना, प्रहरी, स्थानीय लागेका थिए ।