‘खाँची दरबार र मन्दिरको एतिहासिक महत्व छ’- उपसभामुख भुसाल



अर्घाखाँची । प्रतिनिधिसभाका उपसभामुख पुष्पा भुसालले खाँची राज्य, खाँची दरबार र मन्दिरको नेपालको इतिहासमा महत्वपूर्ण भूमिका रहेको बताएकी छन् । खाँची राज्यकी राजकुमारी पृथ्वीनारायण शाहकी जेठी मुमा चन्द्रप्रभावती यसै राज्यको भएको र उहाँकै शिक्षा र राजकीय रणकौशलबाट नेपाल एकीकरण भएको बताउँदै उनले नेपालको इतिहासमा यस राज्यको प्रमुख भूमिका रहेको दाबी गरिन् ।

सन्धिखर्क–७ खाँचीकोटमा निर्माण भएको कालिका भगवती मन्दिरको उद्घाटन गर्दै उपसभामुख भुसालले चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्यलाई मिलाएर अर्घाखाँची जिल्लाको नामाकरण गरिएको बताइन् । उनका अनुसार चन्द्रप्रभावती तत्कालीन बाइसे चौबिसे राज्यअन्तर्गत चौबिसे राज्य समूहको खाँची राज्यका १३औँ राजा दलजित शाह र रानी सुभद्रावतीकी छोरी हुन् ।


पृथ्वीनारायण शाहलाई नेपालको एकीकरण गर्न, राज दरबार सञ्चालन गर्न तथा युद्ध कौशलता सिकाउने उनै चन्द्रप्रभावतीको हात रहेको इतिहासमा उल्लेख गर्दै उनले खाँची राजय नेपाल राज्यमा एकीकरण भएको बताइन् । चौबिसे राज्यअन्तर्गत रहेको यस खाँची राज्यमा रहेको कालिकादेवी भगवतीको मन्दिर रु एक करोड ३० हजारको लगानीमा निर्माण गरिएको हो ।

सोमबार बाजागाजा र कलश यात्राका साथ मन्दिरमा मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर केसीको अध्यक्षता र डिल्लीराज थापाको सञ्चालनमा सम्पन्न भएको हो ।