क्वारेन्टिन कार्यालयको जॉचबिना नै अनुमतिपत्र



पर्सा । विभिन्न देशबाट वीरगञ्ज नाका हुँदै नेपाल भित्रिने अधिकांश खाद्यान्न तथा कृषिजन्य उपजमा क्वारेन्टिन कार्यालयबाट नमूना सङ्कलन गरी जॉचबिना नै (बिना नमूना परीक्षण) प्रवेश अनुमतिपत्र जारी हुँदै आएको छ ।

खाद्यान्न तथा कृषजन्य वस्तु आयात हुँदा प्रवेशअगावै नाकामा उक्त सामग्री खानयोग्य छ कि छैन भनेर विषादी परीक्षणका लागि वीरगञ्जना कामा क्वारेन्टिन कार्यालय सञ्चालनमा छ । यद्यपि उक्त कार्यालयबाट अधिकांश खाद्यान्न तथा कृषिजन्य सामग्रीमा नमूना सङ्कलन गरी जॉचबिना नै प्रवेश अनुमतिपत्र जारी हुँदै आएको पाइएको छ ।


कुनै पनि खाद्यान्न तथा कृषिजन्य वस्तु नेपाल आयात हुनुपुर्व नै क्वारेन्टिन कार्यालयको विज्ञ टोलीबाट उक्त सामग्री खानयोग्य छ कि छैन भनेर विषादी परीक्षण गरेर खान उपयुक्त हुने भएमात्र कार्यालयले नेपाल प्रवेश अनुमतिपत्र जारी गर्नुपर्ने प्रावधान छ । यद्यपि उक्त कार्यालयबाट अधिकांश नमूना परीक्षणबिना नै नेपाल प्रवेश गर्न अनुमतिपत्र जारी हुँदै आएको हो ।

क्वारेन्टिन कार्यालयमा हाल दरबन्दीअनुसार कर्मचारी नहुँदा कहिलेकाहीँ सबै नमूना सङ्कलन गरी चेकजॉच गर्न नभ्याइने अवस्था रहँदै आएको कार्यालय प्रमुख एवं वरिष्ठ बाली संरक्षण अधिकृत कफिल अहमदले बताए। वीरगञ्जमा क्वारेन्टिनसहित दुई सम्पर्क कार्यालयसमेत छन् । वीरगञ्जस्थित सुक्खा बन्दरगाह क्वारेन्टिन सम्पर्क कार्यालय र वीरगञ्ज भन्सार कार्यालय मातहतको एकीकृत जाँचचौकी (आइसपी) क्वारेन्टिन सम्पर्क कार्यालय यहाँ छन् ।

हाल वीरगञ्ज भन्सार कार्यालय मातहतको एकीकृत जाँचचौकी (आइसपी) क्वारेन्टिन सम्पर्क कार्यालय बन्द छ । कर्मचारी अभावमा हाल वीरगञ्जस्थित क्वारेन्टिनबाटै वीरगञ्ज भन्सार कार्यालय मातहतको एकीकृत जाँचचौकी क्वारेन्टिन सम्पर्क कार्यालयको कामसमेत सञ्चालन हुँदै आएको हो । आवश्यक जनशक्ति अभावमा काम गर्न समस्या हुँदै आएको अहमदले बताए। नौ कर्मचारीको दरबन्दी रहेको यस कार्यालयमा हाल पाँचमात्र कार्यरत छन् ।

डेढ करोडको चकलेट र कपडा बरामद

वडा प्रहरी कार्यालय बिर्ताले एक करोड ५० लाख बराबरको चकलेट र कपडा बरामद गरेको छ । प्रहरीले बिलबिजक तथा भन्सार प्रज्ञापनपत्रमा उल्लेखित परिमाणभन्दा बढी सामग्री बोकेका दुई ट्रक नियन्त्रणमा लिएको हो ।

वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–६ लोहारपट्टी सडकखण्डबाट ना५ख ६९५९ नंको मालवाहक ट्रकलाई जाँच गर्ने क्रममा बिलबिजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडासमेत फेला परेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा बुझाइएको छ ।

यसैगरी पर्सा प्रहरीले भन्सार प्रज्ञापनपत्रमा उल्लेखित परिमाणभन्दा बढी चकलेट बोकेको बिपी१३बिए ०२४७ नंको भारतीय ट्रकलाई परवानीपुरबाट नियन्त्रणमा लिएको छ । सो ट्रक र चकलेटसहित  ५० लाख मूल्याङ्कन गरी थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाइएको छ ।