क्यामरूनको अङ्ग्रेजीभाषी क्षेत्रमा पाँच जना मारिए



अङ्ग्रेजीभाषीको बाहुल्य रहेको क्यामरूनको दक्षिणपश्चिम भेगमा सन्दिग्ध पृथकतावादीले यात्रुबाहक एउटा बसमा आक्रमण गर्दा पाँच जना मारिएका तथा अन्य तीन जना घाइते भएका छन् । कुम्बा क्षेत्रबाट वुबातर्फ गइरहेको बसमाथि एकोना इलाकाको राजमार्गमा आक्रमण भएको बताउँदै स्थानीय अधिकारीहरूले चार जना यात्री र बसका चालक मारिएका जनाएका छन् ।

चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको एक जना वरिष्ठ सैनिक अधिकारीले सिह्वालाई फोनमा बताए । घटनास्थलमा सुरक्षा फौज पुगेका तर उनीहरूलाई देखेर पृथकतावादीहरू भागेका उनले बताए । घाइते तीनैजना महिला हुन् । उनीहरूको वुबा क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।


ग्रीष्मकालीन बिदापछि सोबारदेखि खुलेका अङ्ग्रेजीभाषीका विद्यालय बन्द गराउन पृथकतावादीले आक्रमण गरेका हुन् । देशको उत्तरपश्चिम तथा दक्षिणपश्चिम क्षेत्रमा स्वतन्त्र राज्य बनाउन चाहने पृथकतावादीले सरकारी विद्यालय सञ्चालन गर्न नदिने चेतावनी दिएका छन् ।