काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले महामारीको रुपमा फैलिएको डेंगु नियन्त्रणका लागि सरकारले चालेका कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।
मंगलबारदेखि काठमाडौंमा सुरु भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा महामन्त्री थापाले स्थानीय सरकारले समेत डेंगु महामारी नियन्त्रणका लागि प्राथमिकता दिन नसकेको बताए । उनले कोभिडपछि पर्याप्त मात्रामा स्वास्थ्य क्षेत्रमा बजेटको व्यवस्था गरेपनि सरकारले आपतकालका बेला रोग नियन्त्रणका लागि आवश्यक संरचनाहरुको भने निर्माण गर्न नसकेको बताए ।
काठमाडौंमा सीमित रहेको डेंगु रोग देशभर फैंलिने क्रममा रहेको उल्लेख गर्दै महामन्त्री थापाले त्यसको नियन्त्रणका लागि तीन वटै तहका सरकारले गम्भिरतापूर्वक काम गर्नुपर्ने बताए ।
उनले भने, ‘कोभिडबाट अहिले डेंगुको बेलामा आउँदा खासै धेरै कुराहरु सिक्न सकिएनछ हामीले जस्तो लाग्यो । त्यतिबेलाको बजेटलाई हेर्ने हो भने पनि सरकारले स्वास्थ्य संरचनाहरुको निर्माणमा खासै चासो दिएको देखिएन वा सिक्न चाहेन ।’ महामन्त्री थापाले रोग लाग्नै नदिने गरी स्वास्थ्य क्षेत्रमा सचेतना जगाउने गरी राजनीतिक दलहरुले पनि आगामी निर्वाचनको एजेण्डा बनाउनुपर्ने बताए