काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली काँग्रेसले जनताको बीचमा जान पनि अंशबण्डा गरिरहेको भन्दै चिन्ता प्रकट गरेका छन् ।
बिहीबार काठमाडौंमा भएको बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले नेपाली कांग्रेसको अहिलेको अवस्थालाई हेर्दा रामराम भन्नु शिवाय अरु नरहेको उल्लेख गरेका हुन् ।
चिन्तनहरु अध्ययन गर्ने फुर्सद कुनै राजनीनितक कार्यकर्ता र नेताहरुलाई नरहेको भन्दै टिकट किनेर पार्टीमा प्रवेश गर्ने गरेको बताए । पूर्वराष्ट्रपति यादवले काँग्रेस पार्टीमा रहेर पसिना बगाउनको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढी हुँदै गइरहेको पनि बताए ।
उनले समानुपातिकबाट सांसद बन्नको लागि टिकट बिक्रीको चलखेल हुने गरेको पनि बताए । यादवले स्थानीय निर्वाचनमा वडा र पालिकाहरुमा टिकट बिक्री भएको दाबी गर्दै पार्टीमा विधि र आदर्शको पालना तथा सम्मान हुन छोडेकोप्रति चिन्ता व्यक्त गरे ।
उनले काँग्रेसीको पुर्खालाई बिर्सिएर अहिले जनतासमक्ष जान अरु पार्टीसँग मिलेर अंशबण्डा गर्नु लज्जाको विषय भएको बताए । उनले भने, ‘काँग्रेसीले बिपीले उहाँको बेलामा जति महाधिवेशनहरुमा बोल्नुभएको छ, त्यो महत्वपूर्ण छ । बिपीको जेल डायरी, बिपीको आत्मवृतान्त, बिपीले बोलेका राजनीतिका बारेमा विषयहरु काँग्रसीलाई पढ्नलाई फुर्सद छैन । सोझै काँग्रेस छिर्छन् । किनकी टिकट किन्नेलाई काँग्रेसी भनेको छ, कति वर्ष भइसकेको छ, काँग्रेसीमा लागेकालाई फुर्सद नै छैन । पैसामा टिकट बेचिरहेको छ । सुन्नुभएको होला तपाईहरुले समानुपातिकमा टिकट बिक्री भएको छ । वडाको टिकट बिक्री भएको छ । पालिकाको टिकट बिक्री भएको छ ।’ कार्यक्रममा बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा स्मृति लोकार्पणसमेत गरिएको थियो ।