कर्णाली प्रदेश समन्वय समितिको बैठक सम्पन्न



कर्णाली । कर्णाली प्रदेश समन्वय समितिको बैठक सम्पन्न भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको बैठक आज सुर्खेतमा सम्पन्न भएको हो ।

उक्त बैठकमा बोल्दै मुख्यमन्त्री शाहीले जनताको चुल्होको सरकार स्थानीय तह भएकाले स्थानीय सरकारबाटै सेवा प्रवाह हुनुपर्नेमा जोड दिए । उनले भने, “सङ्घले अन्तर्राष्ट्रिय, सुरक्षा र बजेट हेर्नुपर्छ । प्रदेशले योजना बनाउने र स्थानीय तहले त्यसलाई कार्यान्वयन गरी जनतालाई अनुभूति हुने तबरले सेवा प्रवाह गर्नुपर्दछ ।”


जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध नङ र मासु जस्तै हुनुपर्ने जनाउँदै मुख्यमन्त्री शाहीले दुवै क्षेत्रको अन्तरसम्बन्धले मात्र प्रदेशको समृद्धि र विकासमा सहयोग पुग्ने जनाए ।

आजको बैठकले कर्णालीका १० जिल्लाका १० पालिकालाई नमूना छनोट गर्ने तयारी गरेको छ । भोलि बस्ने प्रदेश समन्वय परिषद्को बैठकको एजेण्डा तयारीका लागि समितिको आज बैठक बसेको जनाइएको छ ।