काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको शिक्षा क्षेत्रमा सिकाइको अभाव भएको बताएका छन् । थापाले आज बूढानीलकण्ठ नगरपालिका–८ स्थित भ्याली पब्लिक माध्यमिक विद्यालयको समझदारीपत्रमा हस्ताक्षर समारोहमा विद्यालयको भौतिक तथा अन्य किसिमको सुधार भएको तर शिक्षण सिकाइको अझै पनि कमी रहेको बताए ।
महामन्त्री थापाले निजी तथा सरकारी दुवैखाले विद्यालयमा शैक्षिक पद्धतिको विकास गर्नुपर्ने धारणा व्यक्त गर्दै विद्यालयले ठूला भौतिक संरचना निर्माण गरेर मात्र नहुने र नयाँ पुस्तालाई फरक ढङ्गले अध्ययन गराउन आवश्यक रहेको धारणा राखे । उनले भने , ‘कक्षामा विद्यार्थी छन् तर राम्रो सिकाइ भएको छैन । कक्षाभित्र कसरी सिक्ने भन्ने कुरालाई ध्यान दिनुपर्छ ।’
महामन्त्री थापाले भ्याली पब्लिक विद्यालयको सिकाइलाई अझ प्रभावकारी बनाउन विभिन्न संस्थासँग गरेको सहकार्यले विद्यार्थीको पढाइमा सुधार ल्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बूढानीलकण्ठ प्रमुख मीठाराम अधिकारीले देश परिवर्तन गर्न शिक्षाको भूमिका महत्वपूर्ण हुने बताए । उनले भने, ‘विद्यार्थीमा परिवर्तनको विचार आउन आवश्यक हुन्छ । सामुदायिक र संस्थागत विद्यालयबीचको द्वन्द्व रहेको छ । यसलाई समाधान गर्न आवश्यक छ ।’ भ्याली पब्लिक विद्यालयले काठमाडौँ विश्वविद्यालय, इन्सपायर एजुकेशन फाउन्डेसन, आइएसओ र लाइब्रेरी डेभलपमेन्ट फोरमसँग शैक्षिक सुधार गर्न समझदारी गरेको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले भ्याली पब्लिक विद्यालयले सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए ।