ओलीले प्रतिगमन र लोकतन्त्रको व्याख्या गर्दा सुहाउँदैनः प्रचण्ड



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेको कुरालाई स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन् ।

शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीले निर्वाचनलाई परमादेशको संज्ञा दिएको भन्दै आपत्ति जनाएका हुन् । उनले ओलीले प्रतिगमन र लोकतन्त्रको व्याख्या गर्दा नसुहाउने टिप्पणी गरे ।


उनले भने, ‘संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेको होइन। संविधानविपरीत प्रतिनिधिसभा विघटन गर्ने काम प्रतिगमन नभएर के हो ? उहाँले अहिलेको निर्वाचनलाई प्रतिगमनसँग जोड्नुभयो। त्यो कसरी तुलना गर्न मिल्छ। उहाँले यहाँ बसेकालाई केही थाहा छैन, जनता भेडा नै हो कि भन्ने लाग्छ कि के हो ?’

उनले आफूहरुले निर्वाचन गर्ने कुरालाई कहिल्यै प्रतिगमन नभएको बताए। पार्टीको विवादलाई संसदमा लागेर पोख्न नमिल्ने उनको भनाइ छ । अध्यक्ष प्रचण्डले संविधानसभाबाट संविधान घोषणा गरिसकेपछि त्यसबाट राजनीतिक स्थायित्वको अपेक्षा भएपनि त्यस्तो हुन नसकेको बताए ।