काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक उम्मेदवार सूची तयार पारेको छ । आइतबार बसेको सचिवालय बैठकले प्रतिनिधिसभाका लागि ११० र प्रदेश सभाका लागि २२० को नाम प्रस्ताव गरी पारित गरेको हो ।
प्रतिनिधिसभातर्फ आदिवासी जनजातितर्फ ३२ जना, खसआर्यतर्फ ३४ जना, थारूतर्फ ७ जना, मधेशीतर्फ १७ जना, दलिततर्फ १५ जना, मुश्लिमतर्फ ५ जनाको नाम समावेश गरिएको छ । ११० जनामा ५७ जना महिला छन् भने अरू पुरूषको नाम समावेश छ ।
उपमहासचिव पृथ्वीसुब्बा गुरूङकाअनुसार प्रदेश सभातर्फ समानुपातिकमा २२० जनाको नाम प्रस्ताव गरेर पारित भएको छ । प्रदेश १ का लागि ३७ जना, मधेश प्रदेशमा ४३ जना, बागमतीमा ४४ जना, गण्डकीमा २४ जना, लुम्बिनीमा ३५ जना, कर्णालीमा १६ जना र सुदूरपश्चिममा २१ जनाको नाम सिफारिस गरिएको छ ।
प्रस्तावित नामावलीको सूची सोमबार निर्वाचन आयोगमा बुझाइने उनले जानकारी दिए । आयोगले आइतबार र सोमबार समानुपातिकको सूची बुझाउने कार्यसूची तय गरेको छ ।