एक सय सिटभन्दा कम लिएर चुनावमा जाँदा पार्टीभित्रै विद्रोह हुनसक्छः शेखर कोइराला



जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी चुनावमा एकसय सिटभन्दा कम लिएर चुनावमा जाँदा पार्टीभित्रै विद्रोह हुनसक्ने चेतावनी दिएका छन् ।

विपी जन्मजयन्तीको अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले जनकपुरमा बिहीवार आयोजना गरेको ‘विपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौती’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै कोइरालाले एकसय सिटभन्दा कम लिएर चुनावमा जाँदा पार्टीभित्रै विद्रोह हुनसक्ने चेतावनी दिएका हुन् ।


उनले भने,‘गठबन्धन एकल बहुमत ल्याउन गर्ने हो । पाँच वर्ष स्थायी सरकार दिन्छौँ, भनेका छौँ । सरकार बनाएर जान मात्रै गठबन्धन सोचेको भए त्यसले हामीलाई अप्ठ्यारो पार्छ । बहुमत बनाउन कांग्रेसले सय सिट लिनुपर्छ, नत्र हुँदैन।’ उनले एमालेले संविधानलाई ‘डिरेल’ गर्ने प्रयास गरेको कारण गठबन्धन बनेको र गठबन्धन पवित्र हो वा अपवित्र भन्ने कुरा चुनावपछि मात्रै थाहा हुने बताए ।

उनले माओवादी र समाजवादीहरू कांग्रेसलाई सय सिट दिन तयार नभएका र गठबन्धन गर्दा धेरै सिट घट्न सक्ने बताए । उनले भने,‘उहाँहरू सय सिट दिन तयार हुनुहुन्न । हामीले १६५ सिटमै उठ्यौँ भने पनि नपुग्ने अवस्था छ । तालमेल गर्दा धेरै सिट घट्न सक्छ । त्यसले हामीबीच विग्रह र विद्रोह आउँछ । कांग्रेसमा समस्या बढ्न सक्छ ।’ चुनावको मिति घोषणा गरेर अर्को संसद् नबन्जुलेसम्म अहिलेको संसदको कार्यकाल हुने गरी विधेयक ल्याउन लागिएको तर, सञ्चारमाध्यमले त्यसमा प्रश्न उठाएपछि सच्चिएको पनि कोइरालाले बताए ।