एकताका लागि अँगालो हाल्दा, प्रचण्डले छुरा रोपे : ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक बनाउने उद्देश्यले आफूले पार्टी एकता गरेपनि त्यसमा प्रचण्डले घात गरेको आरोप लगाएका छन् ।

बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले प्रचण्डले घात गर्न खोजेपछि नयाँ ढंगले पार्टी अघि बढेको बताएका हुन् । उनले आफूले प्रचण्डलाई अँगालो हालेर सँगै सिटमा राखेको तर उनले छुरा हानेको बताए ।


उनले भने, ‘मैले प्रचण्डलाई आउनुस मित्र एकीकृत पार्टी बनाऔंँ, बलियो वामपन्थी पार्टी बनाऔँ, एकताबद्ध भएर अघि बढाऔँ भनेर प्रचण्डलाई अध्यक्ष बनाएर मेरो छेउमा ल्याएर राखेको थिएँ । मैले अँगालो हालेको थिएँ प्रचण्डलाई, हात मिलाएको मात्रै होइन । तर, प्रचण्डले हात लुकाइलुकाइ हिँड्थे । म सचेत त थिएँ । नभन्दै मैले अँगालो हालेँ, प्रचण्डले ग्वाम्म छुरी रोपे । कता एउटा भिडिओमा हेर्दै थिएँ, केपी ओलीलाई त मैले साधारण सदस्यबाटै निकालेको थिएँ भनेर प्रचण्ड गर्व गर्दै थिए । कस्तो व्यक्तिलाई मैले विश्वास गरेर पार्टी एकता गरेछु अहिले अचम्म लाग्छ ।’

अध्यक्ष ओलीले महाधिवेशनबाट अध्यक्ष बनाउँछु भनेर आफूले भनेपनि प्रचण्डले आफूसँग बहुमत पुगिसक्यो भनेर आफूलाई पार्टीबाट निकाल्न लागेको बताए ।

उनले नेकपा एमाले लोकतान्त्रिक प्रणाली मान्ने पार्टी भएकोले त्यसै अनुरुपको काम गरिरहेको बताए । अध्यक्ष ओलीले पार्टी उद्देश्य अनुरुप चल्नुपर्ने बताए। पार्टी भनेको एउटा विचारको धागोमा उनिएको एउटा गन्तव्यतर्फ उन्मुख हुनुपर्नेमा उनले जोड दिए । उनले पाँच दलीय गठबन्धन उद्देश्यहीन भएको बताए ।

उनले भने,’यो गठबन्धनसँग उद्देश्य छैन। विपरीत स्वार्थ भएका शक्तिहरुको गठन हो।’ उनले आगामी निर्वाचनमा एमालेलाई बहुमतका साथ जिताउन नेता तथा कार्यकर्तासँग आग्रह गरे।