ऊर्जा आपूर्तिलाई सुरक्षित गर्न जर्मन चान्सलर स्कोल्ज साउदी अरब जाँदै



जर्मनीका चान्सलर ओलाफ स्कोल्जले खाडी भ्रमणका क्रममा साउदी अरबको भ्रमण गर्ने र साउदी युवराज मोहम्मद बिन सलमानसँग भेटवार्ता गर्ने भएका छन् ।

आगामी साता कतार र संयुक्त अरब इमिरेट्स (युएई) को दुई दिने भ्रमणका क्रममा स्कोल्ज युवराजसँग भेट्ने पछिल्लो पश्चिमा नेता हुन् ।


सन् २०१८ मा वासिङ्टन पोस्टका पत्रकार जमाल खशोग्गीको हत्यामा संलग्न भएको आशंकामा बिन सलमानलाई केही समय अघिसम्म पश्चिममा परायाको रुपमा हेरिन्थ्यो ।

तर युक्रेनमाथिको आक्रमणलाई लिएर बढ्दो तनावबीच रूसले ग्यास आपूर्तिमा कटौती गरेपछि युरोप र उसका सहयोगीहरूले प्राकृतिक ईन्धनको नयाँ स्रोतको खोजी गरिरहेका बेला उनीहरूबीच भेटवार्ता हुनेभएको हो ।

सरकारी प्रवक्ता स्टेफेन हेबेस्ट्रेइटका अनुसार एक व्यापारिक प्रतिनिधिमण्डलका साथ स्कोल्जले शनिबार साउदी अरेबियाको भ्रमण गर्नेछन् । साउदी अरबमा रहँदा उनले युवराज विन सलमानसँग भेट्नेछन् । उनले स्वास्थ्यमा प्रतिकुलता नरहेमा राजा सलमानसँग पनि भेट्नेछन् ।

उनले स्कोल्जको खाडी भ्रमणको कारणबारे विस्तृत जानकारी नदिए पनि ऊर्जाको विषयमा छलफल नभए आफू ‘निकै आश्चर्यचकित’ हुने बताए । प्रवक्ताले खशोग्गीको हत्याको विषयमा छलफल हुने विश्वास पनि व्यक्त गरेका छन् ।