इस्मामा वडातहमै कृषि र पशुसेवा केन्द्र स्थापना



गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा स्थानीय तहबाट जिल्लामै पहिलो पटक कृषि र पशु सेवा केन्द्र स्थापना गरिएको छ । गाउँपालिकाको केन्द्रबाट प्रदान गरिँदै आएको सेवा प्रवाहलाई जनताको घरदैलोमा पुर्‍याउने उद्देश्यले वडास्तरसम्म कृषि र पशु सेवा केन्द्र लगिएको हो ।

इस्मा गाउँपालिकाको वडा नं ६ अन्तर्गत अम्मरपुरमा कृषि सेवाकेन्द्र र सोही पालिकाको वडा नं ३ अन्तर्गत दर्लामचौरमा पशु सेवा केन्द्र स्थापना गरिएको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्का जानकारी दिए ।


इस्मा गाउँपालिका– ६ अन्तर्गत अमरपुरको राङदालमा रहेको कृषि सेवा केन्द्रमा हाललाई दुई जना कर्मचारी कार्यरत रहने छन् भने ३ नं वडा अन्तर्गत दर्लामचौरमा रहेको पशु सेवा केन्द्रमा दुई जना कर्मचारी कार्यरत रहने गाउँपालिका अध्यक्ष खड्काले बताए । 

इस्मा गाउँपालिकाको उर्वराभूमिका रुपमा परिचित चौरासी फाँटलगायतका क्षेत्रमा उत्पादित बालीको संरक्षण र त्यसक्षेत्रका किसानले गरेको कृषि र पशुपालन कर्मलाई थप उपलब्धिमूलक बनाउन वडा तहमसम्म सेवा केन्द्र स्थापना गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताएका छन् ।

कृषि ज्ञानकेन्द्र गुल्मी, भेटेनरी अस्पताल तथा विज्ञ सेवा केन्द्रको प्राविधिक सहयोग एवं इस्मा गाउँपालिकाको आर्थिक सहयोगमा पशु सेवा केन्द्र र कृषि सेवा केन्द्र स्थापना गरिएको हो । गाउँघरमा उत्पादित कृषिउपज र पशु चौपायामा देखापर्ने विभिन्न समस्या र प्राविधिकको अभावमा किसानले बेहोर्नुपर्ने नोक्सानीलाई सेवा केन्द्रबाट ठूलो राहत पुग्ने बताइएको छ ।

किसानको समस्या र गुनासोलाई मध्यनजर गर्दै इस्मा गाउँपालिकाले सेवा केन्द्रमार्फत घरमै सेवा उपलब्ध गराउने गरी कामको सुरुवात गरेको हो ।