आणविक वार्ताबारे युरोपेली वक्तव्य ‘अरचनात्मक’ : इरान



इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीलाई उद्धृत गर्दै बेलायती समाचार एजेन्सी रोयटर्सले लेखेको छ, ‘यो आश्चर्यजनक र खेदजनक छ । वार्तालाई अन्तिम रूप दिन वार्ता पक्ष र भियना वार्ताका संयोजकबीच कूटनीतिक संवाद र सन्देशआदानप्रदान जारी रहेको वर्तमान परिस्थितिमा ईयूले यस्तो वक्तव्य जारी गर्नु वार्ताको क्रममा फलदायी दृष्टिकोणको मार्गबाट विचलित भएको देखिन्छ ।’

सन् २०१५ मा भएको इरानको आणविक सम्झौताको पुनरुत्थानका लागि वार्तालाई अन्तिम रुप दिन इरानको ‘सद्भाव र गम्भीर शंकल्प’को उल्लेख गर्दै उनले युरोपेली पक्षलाई ‘सुरुदेखि नै वार्ताको विपक्षमा रहेका र अहिले वार्ता लाई असफल बनाउन सक्दो प्रयास गरिरहेका तेस्रो पक्षको दुष्प्रचारबाट प्रभावित नहुन’ आग्रह गरेका छन् ।


प्रवक्ताले युरोपेली देशहरूलाई धम्कीको सहारा नलिन पनि चेतावनी दिएका छन् । यसअघि शनिबार नै फ्रान्स, जर्मनी र बेलायतले एक संयुक्त वक्तव्य जारी गर्दै इरानले आणविक सम्झौताको उद्धारका लागि इयूले हालै बुझाएको ‘अन्तिम दस्तावेज’ ले दिएको ‘यो महत्वपूर्ण कूटनीतिक अवसरको फाइदा नलिने निर्णय गरेको’ बताएका थिए ।

सन् २०१५ को जुलाईमा इरानले विश्वका प्रमुख देशहरूसँग आणविक सम्झौता (जेसीपीओए) मा हस्ताक्षर गरेको थियो र इरानमाथिको प्रतिबन्ध हटाउने बदलामा आफ्नो आणविक कार्यक्रम लाई रोक्न सहमत भएको थियो । यद्यपि, पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनलाई सम्झौताबाट फिर्ता गर्दै तेहरानमाथि एकपक्षीय प्रतिबन्धहरू पुनः लागू गर्नुभएको थियो । यसले गर्दा तेहरानले सम्झौता अन्तर्गतका आफ्ना केही प्रतिबद्धताहरू फिर्ता लिएको थियो ।

पाँच महिनाको अन्तरालपछि गत अगस्टको सुरुमा अस्ट्रियामा आणविक वार्ताको पछिल्लो चरण सम्पन्न भएको थियो । अगष्ट ८ मा इयूले जेसीपीओएलाई पुनर्जीवित गर्ने निर्णयको मस्यौदाको ‘अन्तिम पाठ’ अघि सारेको थियो । इरान र संयुक्त राज्य अमेरिकाले हालै अप्रत्यक्ष रूपमा ईयूको प्रस्तावमा विचार आदानप्रदान गरेका छन् ।