अमेरिकी प्रतिबन्ध हटे मात्र आणविक सम्झौता हुन्छ : इरानी राष्ट्रपति



आणविक वार्तामा प्रगति भएको भन्दै इरानले प्रतिबन्ध हटाउने ग्यारेन्टीको माग गरेको छ ।

इरानका राष्ट्रपति इब्राहिम रायसीले जारी आणविक वार्तामा प्रगति हासिल गर्न इरानमाथिको अमेरिकी प्रतिबन्ध हटाउने विषयमा सुनिश्चितता र सुरक्षाका मुद्दाहरूको समाधान हुनुपर्ने बताएका छन् । उज्बेकिस्तानको समरकन्द शहरमा अल जजिरा न्यूज च्यानललाई दिएको अन्तर्वार्तामा रायसीले इरानी सरकार आफ्ना जनताको अधिकारको रक्षा गर्न कटिबद्ध रहेको बताए ।


अमेरिकासँगको सम्भावित प्रत्यक्ष वार्ताबारे बोल्दै रायसीले भने, “आणविक सम्झौताका लागि अमेरिकासँग प्रत्यक्ष वार्ताको कुनै अर्थ छैन र अमेरिकाले इरानसँग विश्वास बढाउने कदम चाल्नुपर्छ । वासिङ्टनको इरान विरोधी नयाँ प्रतिबन्ध लगाउने हालैको कदममाथि प्रश्न गर्दै उनले भने, “यदि संयुक्त राज्य अमेरिकाले इरानसँग सम्झौता गर्न खोजिरहेको छ भने उसले आणविक वार्ताको बीचमा किन नयाँ प्रतिबन्धहरू लगाएको छ ?”

गत साता वासिङ्टनले थुप्रै इरानी नागरिक र कम्पनीका साथै इरानी गुप्तचर मन्त्रालयमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । सन् २०१५ को जुलाईमा इरानले विश्वशक्ति राष्ट्रहरूसँग आणविक सम्झौता (जेसीपीओए) मा हस्ताक्षर गरेको थियो र इरानमाथिको प्रतिबन्ध हटाउने बदलामा आफ्नो आणविक कार्यक्रमलाई रोक्न सहमत भएको थियो । यद्यपि, पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनलाई सम्झौताबाट फिर्ता गरेर तेहरानमाथि एकपक्षीय प्रतिबन्धहरू पुनः लागू गरेका थिए । यसपछि तेहरानले पनि सम्झौता अन्तर्गतका आफ्ना केही प्रतिबद्धताहरूलाई क्रमशः फिर्ता लिएको थियो ।

जेसीपीओएको पुन ःउत्थानसम्बन्धी वार्ता अप्रिल २०२१ मा भियनामा सुरु भएको थियो । तेहरान र वासिङ्टनबीचको राजनीतिक मतभेदका कारण उक्त वार्ता यस वर्षको मार्चमा स्थगित गरिएको थियो । पाँच महिनाको अन्तरालपछि अगस्टको सुरुमा अस्ट्रियाको राजधानीमा आणविक वार्ताको पछिल्लो चरण सम्पन्न भएको थियो । अगष्ट ८ मा इयूले जेसीपीओएलाई पुनर्जीवित गर्ने निर्णयको मस्यौदाको अन्तिम पाठ प्रस्तुत गरेको थियो । इरान र संयुक्त राज्य अमेरिकाले पछि अप्रत्यक्ष रूपमा ईयूको प्रस्तावमा विचार आदानप्रदान गरे जुन प्रक्रियामा कुनै अनुकूल परिणाम आउन सकेको छैन ।