‘अग्निपथ भर्ती’बारे तत्काल वार्ता हुँदैन, नयाँ सरकारले निर्णय गर्छ : परराष्ट्र मन्त्रालय



काठमाडौँ । परराष्ट्र मन्त्रालयले भारतीय सेनाको अग्निपथ कार्यक्रमअन्तर्गत गोर्खा सैनिकको भर्तीसम्बन्धी निर्णय चुनावअघि नहुने स्पष्ट पारेकाे छ । आज (बिहीबार) नियमित पत्रकार सम्मेलनमार्फत परराष्ट्रले गोर्खा सैनिकको भर्तीसम्बन्धी निर्णय चुनावअघि नहुने कुरा दोहोर्‍याएको हाे ।

भारतीय सेनाध्यक्ष मनोज पाण्डेले नेपालले निर्णय नगरे नेपालीलाई छुट्याइएको अग्निपथ भर्ती तत्काललाई फिर्ता हुने अभिव्यक्ति दिएपछि परराष्ट्रले आज आफ्नो धारणा सार्वजनिक गरेको हो ।


भारतीय सेनाध्यक्षको भनाइप्रति प्रतिक्रिया जनाउँदै प्रवक्ता सेवा लम्सालले भनिन्, ‘नेपाल सरकारको निर्णय भनेको नै नवनिर्वाचित सरकारले नै गर्ने भन्ने हो । तत्काल यसबारे छलफल र वार्ता अघि बढ्दैन। उहाँहरूको कुरा उहाँहरूले राख्नुभयो होला उहाँहरूको देशको कुरा राख्न पाउने नै हुनुभयो । यसबारेमा यो गरौँ त्यो गरौँ भन्नुभन्दा पनि नवनिर्वाचित सरकारले नै सबै राजनीतिक दलहरूसँग कुरा गरेर यस विषयलाई अगाडि बढाउँदा नै उपयुक्त हुन्छ भन्ने हो ।’