काभ्रेपलाञ्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले नागरिकलाई सरकारी अस्पतालमा उपचार गराउन आग्रह गरेका छन् ।
उनले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा शक्रबार धुलिखेलमा आयोजित ‘जिल्लाको स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा नीजि अस्पतालमा गम्भीर प्रकृतिका रोगको उपचार गर्दा धेरै खर्च हुने अवस्थाबाट जोगिन सरकारी अस्पतालमा उपचार गर्न आग्रह गरेका हुन् ।
“घातक रोग लागेका बिरामी नीजि अस्पतालमा जाने पैसा, सम्पत्ति सबै सक्ने र पछि सरकारी खोज्ने गरेको धेरै पाइयो, यसो नगर्नुस् सुरुमै उपचार गर्न सरकारी अस्पताल जाने बानी बसाल्नुस्”, मन्त्री खापुङले भने । उनले आफूले नीजि अस्पताललाई दूरुत्साउन नगरेको उल्लेख गर्दै सक्ने हैसियत भएका मात्रै नीजि अस्पतालतिर उपचार गर्न जानसक्ने बताए ।
मन्त्री खापुङले सरकारले प्रत्येक वडामा स्वास्थ्य चौकी, प्रत्येक पालिकामा पाँचदेखि १५ शय्यासम्मको अस्पताल निर्माण भइरहेको र गम्भीर प्रकृतिका बिरामीलाई मासिक रु पाँच हजार दिइरहेको स्मरण गराए । उनले भने, “अब जिल्लालाई हरेक क्षेत्रमा नमूना बनाउने जिम्मा जिसस पदाधिकारी र स्थानीय जनप्रतिनिधि कै हो, स्वास्थ्य क्षेत्रमा सबै मिलेर वार्षिक कार्यक्रम निर्माण गरी काम लाग्नुहोस्, यसपछि नागरिकले सवल स्वास्थ्य सेवाको महसुस गर्नेछन् ।”
मन्त्री खापुङले फरक प्रसङ्गमा सङ्घीयताको अभ्यास भइरहँदा केन्द्रको अधिकार गाउँमा लैजाने क्रममा जिल्लास्थित अस्पतालका चिकित्सक तथा कृषि वैज्ञानिकसमेतलाई स्थानीयस्तरमा लैजाने भन्ने जनाइएपनि सबै क्षेत्रमा त्यस्तो नभएको धारणा व्यक्त गरे ।
“स्थानीय तहमा भएका योग्य, सक्षम, विज्ञ जति जिल्लामा, जिल्लामा भएका प्रदेशमा, प्रदेशमा भएका केन्द्रमा जाँदा गाउँ खाली भएकै अवस्था हो, यस प्रवृत्तिलाई अब मिलाउनुपर्छ”, उनले भने ।